काठमाडौं । बैंक तथा वित्तिय संस्थालाई गाडी आयातको लागि चाहिने प्रतितपत्र (एलसी) खोल्न रोक लगाएसँगै नयाँ गाडी आयात प्रकृया रोकिएको छ । नेपाल राष्ट्र बैंकले आयातमा कडाई गर्दै सबै वाणिज्य बैंकलाई एलसी नखोल्न मौखिक निर्देशन दिएसँगै नयाँ अर्डर बन्द भएको हो ।
अहिले नेपालमा करिब २० ब्राण्डले चार पाङ्ग्रे सवारीसाधन आयात तथा विक्री वितरण गर्दै आएका छन् । नेपाली बजारमा इन्डियन, जापानी, यूरोपियन, अमेरिकन र पछिल्ला दिनमा एकपछि अर्को गर्दै चिनियाँ ब्राण्डका उत्पादन उपलब्ध रहेका छन् ।
नेपाली नयाँ वर्षको अवसर पारेर विगतदेखि नै कम्पनीहरुले ग्राहकमैत्री स्कीमहरु दिने गरेका थिए । अघिल्ला दुई वर्ष नयाँ वर्षको मुखमै कोभिड १९ संक्रमणको कारण लकडाउन गर्नु परेको थियो । तर, यसपटक बजार खुल्ला भएपनि आयात ठप्प हुँदा स्कीममा कम्पनीरुले खासै मिहिनेत गरेको देखिदैन ।
‘लकडाउनले थला परेको समयभन्दा अहिले खराव अवस्था आयो । त्यतिबेला बजार बन्द थियो, अहिले बैंकले गर्ने लगानी बन्द भयो । त्यसले ब्यवसायीलाई समस्यामा पारेको छ’, नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले भने ।
थापाका अनुसार बैंकले कर्जा नदिदा भन्सार आएर बसेका गाडी पनि आयात छुटाउन सकिएको छैन । यी समस्याका बाबजुद केही कम्पनीले नयाँ वर्ष स्कीम संचालन गरेका छन् ।
हुन्डाई
हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ वर्ष २०७९ को अवसर पारेर स्कीम संचालनमा ल्याएको छ । कम्पनीले ल्याएको नयाँ स्कीममा गाडी किन्ने ग्राहकले नगद छुटको साथमा अन्य सुविधा पनि पाउने छन् ।

विगतका वर्षमा जस्तै लक्ष्मी हुन्डाईले ‘नयाँ वर्षको शुरुवात हुन्डाईको साथ’ ट्यागलाइन सहित स्कीम संचालनमा ल्याएको हो । कम्पनीले मोडल अनुसार अधिकतम ४ लाखसम्म नगद छुट, ७९ हजारसम्म नयाँ वर्ष बोनस, एक्सचेन्जमा गाडी ल्याउनेलाई ७९ हजारसम्म एक्सचेन्ज बोनस र अघिल्ला वर्षहरुको मोडलमा ९९ हजारसम्म मोडल इयर डिस्काउन्ट दिने जनाएको छ ।
हुन्डाईले अहिले नेपाली बजारमा सेन्ट्रो, आई २०, भेन्यू, ग्राण्ड आई १०, क्रेटा, टुसान, शान्ताफे, कोना, आयोनीक, प्यालीसेड जस्ता मोडल विक्री वितरण गर्दै आएको छ ।
फक्सवागेन
फक्सवागेनको आधिकारीक विक्रेता पुजा इन्टरनेशनल नेपालले अहिले नयाँ वर्ष २०७९ को विशेष योजना ल्याएको छ । यस योजनामा गाडी किन्ने ग्राहकले पोलो ह्याचव्याक १४ हजार ९९९ रुपैयाँ र २२ हजार ९९९ रुपैयाँ मासिक किस्तामा टाइगुनको सुरुवाती भेरियन्ट किन्न पाउने छन् ।

कम्पनीका अनुसार पोलो र टाइगुनमा घोषणा भएको मासिक किस्ता ६ महिनाको लागि मात्रै हो । ६ महिनापछि दुबै गाडीको मासिक किस्ता यसको दोब्बर हुन्छ । यसको मतलव पोलोको करिब ३० हजार र टाइगुनको मासिक किस्ता ४६ हजार हाराहारी तिर्नु पर्ने हुन्छ ।
कम्पनीले यसरी सरल किस्ता बन्दीमा गाडी दिने योजना अप्रिल ३० तारिखसम्म मात्रै संचालन गर्ने जनाएको छ । फक्वागेन पोलो र टाइगुन दुबै कारमा फक्सवागेनको १.० लिटर टिएसआई इन्जिन उपलब्ध छ । यी दुबै कार सुरक्षा र उच्च माइलेजको लागि परिचित रहेका छन् ।
मारुती सुजुकी
नेपालमा धेरै गाडी विक्री गर्ने मध्येको एक कम्पनी मारुती सुजुकीले पनि नयाँ वर्ष लक्षित योजना सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको स्कीममा ग्राहकले मोडल अनुसार अधिकतम २ लाख रुपैयाँ नगद छुट पाउने छन् ।

‘ह्याप्पी न्यू कार’ ट्यागलाइन सहित सिजी मोटोकर्पले संचालन गरेको स्कीममा गाडी किन्ने ग्राहकले नगद छुटको अलावा १ वर्षको बीमा, १ लाख २५ हजारसम्म एक्सचेन्ज बोनस र स्क्र्याचकार्ड मार्फत ७५ हजारसम्म अतिरिक्त नगद छुट जित्न सक्ने छन् ।
मारुती सुजुकीले अहिले अल्टो, एस–प्रेसो, सेलेरियो, स्वीफ्ट, इग्नीस, आर्टिगा, एक्सएल६, एसक्रस, ब्रेजा, बलेनो जस्ता मोडल विक्री वितरण गर्दै आएको छ ।
रेनो
यूरोपियन ब्राण्ड रेनोको आधिकारीक विक्रेता एड्भान्स अटोमोवाइलले ‘रेनोसँग खुसीयाली, नयाँ वर्ष २०७९’ अफर संचालन गरिरहेको छ । कम्पनीले नयाँ वर्ष स्कीममा गाडी किन्ने ग्राहकलाई ३ लाखसम्मको नगद छुट प्रदान गर्ने जनाएको छ ।

अहिले रेनोले नेपाली बजारमा क्वीड, ट्राइबर, काइगर र डस्टर जस्ता मोडल विक्री वितरण गर्दै आएको छ ।
निसान
निसानको आधिकारीक विक्रेता पायोनियर मोटोकर्पले पनि नयाँ वर्ष स्कीम संचालनमा ल्याएको छ । कम्पनीले ल्याएको स्कीम किक्स एसयूभी केन्द्रित रहेको छ ।

‘निसान न्यू इयर फियस्ट २०७९’ नाम दिएर ल्याइएको स्कीममा ४ लाख ५२ हजारसम्मको फाइदा ग्राहकले लिन सक्ने जनाइएको छ । कम्पनीले ३ लाख ५० हजारसम्म नगद छुट, १ वर्षको बीमा, एक वर्षको वार्षिक कर दिने जनाएको छ ।
ग्रेटवाल मोटर्स
ग्रेटवाल मोटर (जिडब्लुएम) नेपालले नयाँ वर्ष २०७९ को अवसरमा ४ लाखसम्म नगद छुट दिने स्कीम अगाडि ल्याएको छ । कम्पनीले आफ्ना हाभल ब्राण्डका एसयूभी र ग्रेटवालको पीकअपमा लागुहुनेगरी नयाँ स्कीम सार्वजनिक गरेको हो ।

कम्पनीले नगद छुटको अलावा निःशुल्क एक्सेसोरिज, उत्कृष्ट एक्स्चेन्ज बोनस, निःशुल्क इन्स्योरेन्स, एक वर्षको रोड ट्याक्स र स्पट भ्यालुएसन उपलब्ध गराएको उल्लेख गरेको छ । यस योजना अन्तर्गत ग्रेटवाल तथा हाभल ब्राण्डको गाडी किन्न चाहने ग्राहकले बैशाख ३१ गतेसम्म यो स्कीम पाउने छन् ।
स्कोडा
स्कोडाको आधिकारीक विक्रेता एमएडब्लू स्कोडाले नयाँ वर्ष स्कीम नल्याएपनि कुशक एसयूभीमा भने स्कीम दिइरहेको छ । कम्पनीले कुशक किन्न चाहने ग्राहकलाई १० लाख रुपैयाँ डाउन पेमेन्टमा नै गाडी दिने योजना संचालन गरिरहेको हो ।

स्कोडा कुशक पछिल्लो समय नेपालमा आएको सफल एसयूभी हो । चेक ब्राण्ड स्कोडाले भारतमा बनाएको यो एसयूभी मूल्यका हिसावले हुन्डाई क्रेटा, किया सेल्टोस जस्ता मोडलसँग प्रतिस्पर्धा गरिरहेको छ ।

