३ खर्व ५० अर्व लगानी भएको क्षेत्र बचाउन नाडाको अर्थमन्त्रीलाई आग्रह

काठमाडौं । नयाँ बजेटको तयाारी भइरहेको र सवारी साधन आयात रोकिएको समयमा नाडाका पदाधिकारी तथा अर्थमन्त्री बीच छलफल भएको छ । उक्त भेटमा नाडाले ३ खर्व ५० अर्व लगानी रहेको यो क्षेत्र बचाउन माग गरेको थियो भने, अर्थमन्त्री शर्माले निजी सवारीसाधन आयातमा केही समयका लागि मात्रै कडाई गरिएकाले नअत्तालिन भनेका थिए ।

‘अहिले देशको अर्थतन्त्र अलि दबाबमा छ । यो बेला सबैले मिलेर अर्थतन्त्र विकासको काम गर्नुपर्ने बेला हो । निजी सवारीसाधन आयातमा गरिएको कडाई प्रति आपत्ती नजनाउनुहोला । यो केही समयका लागि मात्र हो’, अर्थमन्त्री शर्माले ब्यवसायीहरुलाई भने ।

उक्त भेटघाटमा नाडा अध्यक्ष ध्रुव थापाले हालै नाडाले संकलन गरेको तथ्याङ्क प्रस्तुत गर्दै ३ खर्व ५० अर्व भन्दा बढीको लगानी रहेको, हरेक बर्ष १ खर्व ५० अर्वभन्दा बढी राजश्वमा योगदान पु¥याउदै आएको र देशको प्रत्येक्ष रोजगारीमा ९८ हजारभन्दा बढीलाई अवसर दिएको बताएका थिए ।

प्रतितपत्र खोल्ने कार्य चाँडो खुलाउन आग्रह गर्दै अध्यक्ष थापाले अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न प्रर्दशनी स्थलको निर्माणका लागि बजेट बिनियोजन गर्न आग्रह गरेका थिए ।

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सवारी साधनहरुको आयात बन्द हुँदा देशमा पर्न सक्ने असरहरुबारे आफ्नो धारणा रखेका थिए भने, अर्का उपाध्यक्ष सुनिल रिजालले सिमानाकाहरुबाट हुने स्पेयर पार्टस्को चोरी पैठारीलाई नियन्त्रण गर्न विशेष निगरानीको व्यवस्थाको लागि आग्रह गरेका थिए । नाडाका महासचिव सुरेन्द्र उप्रेतीले नेपालमा अटोमोवाइल उद्योग स्थापनाका लागि उपयुक्त बातावरण निर्माण गर्न आग्रह गरेका थिए ।


Back_to_top