क्वीड इलेक्ट्रीक सार्वजनिक, रेन्ज ३०० किलोमिटर

काठमाडौं । रेनोले क्वीड ई-टेक नामबाट इलेक्ट्रीक कार सार्वजनिक गरेको छ । कम्पनीले नयाँ इलेक्ट्रीक क्वीडलाई ब्राजिलमा विक्री सुरु गरेको हो ।

भारतमा पनि चाँडै उत्पादन हुने अनुमान गरिएको क्वीड इलेक्ट्रीक यसअघि चीन र त्यसपछि यूरोपमा विक्री हुँदै आएको थियो । कम्पनीले चीनमा केजेडई र यूरोपमा डासिया स्प्रीङ नामबाट विक्री गर्दै आएको छ । कम्पनीले ब्राजिलमा भने क्वीड ई-टेक नामबाट विक्री सुरु गरेको हो ।

भारत र नेपालमा पनि सफल मोडल क्वीड इलेक्ट्रीकमा आउने प्रतिक्षा धेरैले गरिरहेका छन् । ब्राजिलमा सार्वजनिक भएको क्वीड इलेक्ट्रीक अहिले नेपालमा विक्री भइरहेको फेसलिफ्ट क्वीडबाट प्रेरित रहेको छ ।

इभी भएको कारण यसमा क्लोज ग्रिल दिइएको छ । यसको इन्ट्रुमेन्ट क्लष्टर नयाँ डिजाइनको दिइएको छ भने नयाँ डिजाइनको अलोय ह्वील र फोर स्पोक स्टेरिङ ह्वील दिइएको छ ।

रेनोले यसमा २६.८ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री र ४८ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर उपलब्ध रहेको छ । यसलाई इको मोडमा चलाउँदा ४४ पीएस पावर मात्र प्रदान गर्छ । इको मोडमा ब्याट्री बचाउन यो टेक्नोलोजी प्रयोग गरिएको हो ।

रेनोले क्वीड इलेक्ट्रीकको तौल ९७७ केजीमा सिमित गरेको कारण यसको रेन्ज हाइवेमा २६५ किलोमिटर र सहरी क्षेत्रमा ३०० किलोमिटर रहने बताइएको छ । यसलाई अन बोर्ड चार्जरले करिब ९ घन्टा र ७ किलोवाट क्षमताको चार्जरले करिब ३ घन्टामा फुल चार्ज गर्न सकिन्छ । यसलाई डिसी चार्जर सर्पोट गर्न सक्ने बनाइएको छ ।

यसको ड्यासबोर्डमा रेगुलर क्वीडको जस्तै ७ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, पावर विन्डो, म्यानुयल एसी दिइएको छ । सुरक्षाको लागि कारमा ब्रेक एसिस्ट, एबीएस, हिल स्टार्ट एसिस्ट, इलेक्ट्रोनिक्स स्टेविलिटी कन्ट्रोल, ६ वटा एयरव्याग, टायर प्रेसर मोनिटर जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top