यामाहाको ३ नयाँ मोडल अन्योलमा, कहिले होला विक्री सुरु ?

काठमाडौं । विदेशी मुद्रा सन्चिति समस्यामा परेको नेपाल राष्ट्र बैंकले प्रतितपत्र (एलसी) खोल्न मौखिक निर्देशनपछि नयाँ सवारीसाधन मगाउन बन्द भएको छ । नयाँ एलसी बन्द भएसँगै यामाहाले नेपालमा विक्री सुरु गर्न लागेको तीन नयाँ मोटरसाइकल तत्काल सार्वजनिक नहुने भएको हो ।

यामाहा मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी एमएडब्लू इन्टरप्राइजेजले तीन नयाँ मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गर्न तयारी गरेको थियो । नेपालका विभिन्न सडकमा परिक्षण गरेर विक्री सुरु गर्ने अवस्था भएपनि थप मोटरसाइकल मगाउन बन्द भएसँगै तत्काल नयाँ मोटरसाइकहरु सार्वजनिक नहुने भएका हुन् ।

नयाँ मोटरसाइकल तत्काल सार्वजनिक गर्न सम्भव नभएको बताउँदै कम्पनीका सीईओ राजु क्षेत्री भन्छन्, ‘हामीले ल्याउन लागेको मोटरसाइकलको माग निकै राम्रो छ । त्यसमाथि विक्री सुरु गरेपछि किन्न चाहने ग्राहक धेरै आउँछन् । त्यसैले तत्काल नयाँ मोडल सार्वजनिक नगर्ने निर्णय लिएका छौं ।’

राष्ट बैंकले वाणिज्य बैंकहरुलाई धेरै आयात हुने र अत्यावश्यक नमानिने बस्तुको आयात असारसम्म रोक्ने देखिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ । सरकारले तत्काल एलसी खोल्ने बाटो खुल्ला नगर्ने हो भने नयाँ मोटरसाइकल साउन लागेपछि मात्रै बजारमा आउने अपेक्षा गर्न सकिन्छ ।

यामाहाको नयाँ मोटरसाइकल एफजेड एक्स, आर१५ भर्सन ४ र यामाहा आर १५ एम नेपालमा परिक्षण पश्चात सार्वजनिक हुने तयारीमा रहेका मोडलहरु हुन् । यी मोटरसाइकल नयाँ वर्ष लक्षित गरेर सार्वजनिक गर्ने तयारी गरेको एमएडब्लूले सरकारी निर्णय पश्चात् मोटरसाइकल तत्काल बजारमा नल्याउने योजना बनाएको हो ।


Back_to_top