नयाँ डिजाइनमा आउँदै बजाज पल्सर १२५

काठमाडौं । बजाज पल्सर १२५ नयाँ डिजाइनमा आउने भएको छ । भारतमा बजाजको नयाँ क्लासिक पल्सर १२५ आधिकारिक रूपमा सार्वजनिक हुनुअघि नै डिलरहरूमा देखिएको हो ।

डिलरमा देखिएको पल्सर १२५ मा नयाँ डिजाइन, नयाँ फ्रेम, रियर मोनोशक, सम्भावित नयाँ इन्जिन तथा थप आधुनिक फिचरहरू समावेश गरिएको रिपोर्टमा उल्लेख छ ।

नयाँ पल्सर १२५ मा पूर्ण रूपमा नयाँ बडीवर्क प्रयोग गरिएको भए पनि यसले पल्सरको परिचित डिजाइन भाषालाई कायम राखेको छ । अगाडिको भागमा आकर्षक त्रिकोणाकार एलईडी नयाँ हेडलाइटसँग आक्रामक देखिने डीआरएल दिइएको छ । जसले मोटरसाइकललाई अझ आधुनिक र स्पोर्टी लुक दिएको छ ।

मस्कुलर फ्युल ट्यांकसँग नयाँ ट्यांक एक्सटेन्सन थपिएको छ । पछाडिको भागलाई पहिलेभन्दा स्लिम र सफा डिजाइन गरिएको छ । साथै, नयाँ स्प्लिट एलईडी टेललाइट प्रयोग गरिएको छ । यसमा भने सेग्मेन्ट अनुसारकै हलोजन टर्न इन्डिकेटरलाई निरन्तरता दिइएको छ ।

पल्सर १२५ मा मेकानिकल रूपमा सबैभन्दा ठूलो परिवर्तन नयाँ ट्युबुलर स्टिल फ्रेम हो । अगाडि टेलिस्कोपिक फोर्क नै राखिएको भए पनि पछाडि पहिलो पटक मोनोशक सस्पेन्सन दिइएको छ, जसमा प्रिलोड एड्जस्ट गर्ने सुविधा पनि हुन सक्ने अनुमान गरिएको छ ।

मोटरसाइकलमा १७ इन्चको अलोय ह्वीलसँग एमआरएफका ट्युबलेस टायर प्रयोग गरिएको छ । ब्रेकिङका लागि अगाडि डिस्क र पछाडि ड्रम ब्रेक उपलब्ध हुनेछ । यद्यपि, एबीएस उपलब्ध हुने वा नहुने विषयमा कम्पनीले अहिलेसम्म जानकारी दिएको छैन ।

स्पाइ तस्बिरहरूका आधारमा नयाँ पल्सर १२५ मा नयाँ इन्जिन प्रयोग गरिएको हुन सक्ने अनुमान गरिएको छ । इन्जिनको नयाँ क्यासिङ, फरक एक्सहस्ट हेडर र नयाँ साइलेन्सर डिजाइनले नयाँ मोटरको संकेत दिएको हो ।

कम्पनीले इन्जिनको प्राविधिक विवरण सार्वजनिक नगरे पनि यो इन्जिनले सहर केन्द्रित सहज प्रदर्शन, राम्रो रिफाइनमेन्ट र उच्च माइलेज प्रदान गर्ने अपेक्षा गरिएको छ ।

टेक फिचरका हिसाबले नयाँ पल्सर १२५ मा एलईडी हेडलाइट, एलईडी टेललाइट तथा ब्लुटूथ कनेक्टिभिटीसहितको नयाँ कलर एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध हुनेछ । यसमा टर्न-बाइ-टर्न नेभिगेसन, एसएमएस तथा कल अलर्टजस्ता सुविधा पनि समावेश हुनेछन् ।

कम्पनीले आगामी अगस्ट १२ मा नयाँ पल्सर मोडल सार्वजनिक गर्ने घोषणा गरिसकेको छ । जसअन्तर्गत क्लासिक पल्सर १२५ पहिलो मोडल बन्न सक्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top