शुक्रबार लन्च हुँदै लीपमोटर ‘B03X’, कति पर्ला मूल्य ?

काठमाडौं । लीपमोटरको नयाँ इलेक्ट्रीक एसयूभी ‘बी ०३ एक्स’ नेपाल आइपुगेको छ । नेपालका लागि लीपमोटरको आधिकारिक बिक्रेता साँग्रिला मोटर्सले ‘बी ०३ एक्स’ नेपाल भित्र्याएको हो ।

चिनियाँ बजारमा ‘ए १०’ नामबाट बिक्री भइरहेको एसयूभी नेपालमा बी ०३ नाममा आएको हो । कम्पनीले उक्त नयाँ एसयूभी यही शुक्रबार (साउन २२ गते) सार्वजनिक गर्दैछ ।

कम्पनीले ‘बी ०३ एक्स’को आधिकारिक मूल्य घोषणा गरेको छैन । तर, ३५ लाखदेखि ४५ लाख रुपैयाँ बीचमा आउने अनुमान गरिएको छ ।

लीपमोटर बी ०३ दैनिक उपयोगिता र आधुनिक इलेक्ट्रीक कार्यक्षमताको उत्कृष्ट संयोजन गर्ने गरी डिजाइन गरिएको छ । यसमा १४५ किलोवाटको इलेक्ट्रीक मोटर र ५३ किलोवाट आवरको ब्याट्री रहेको छ । यसमा रहेको ब्याट्रीले एकपटकको फुलचार्जमा ५०५ किलोमिटरसम्मको सीएलटीसी रेन्ज दिने कम्पनीको दाबी छ ।

डीसी फास्ट चार्जरबाट ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब १६ मिनेट लाग्ने दाबी कम्पनीले गरेको छ । बी ०३ एक्सको ऊर्जा खपत प्रति १०० किलोमिटर १०.७ किलोवाट आवर रहेको छ ।

यसमा ५१० लिटरको फराकिलो बुटस्पेस, प्रिमियम बनावट र फराकिलो क्याबिन रहेको छ। यसको लम्बाइ ४२७० एमएम, चौडाइ १८१० एमएम, उचाइ १६३५ एमएम र ह्वीलबेस २६०५ एमएम छ । यसमा १८ इन्चको एलोय ह्वील दिइएको छ । यसको अगाडि म्याकफर्सन स्ट्रट र पछाडि टोर्सन बीम सस्पेन्सन पाउन सकिन्छ ।

इन्टेरियरमा १४.६ इन्चको ठूलो सेन्ट्रल इन्फोटेनमेन्ट स्क्रिन र डिजिटल ड्राइभर डिस्प्ले दिइएको छ । मिनिमलिस्ट डिजाइनमा तयार गरिएको केबिनले आधुनिक र प्रविधिमैत्री अनुभव दिने अनुमान छ ।

बाहिरी डिजाइनको कुरा गर्दा कम्प्याक्ट आकार, गोलाकार तथा मैत्रीपूर्ण डिजाइन र सेमी–हिडन डोर ह्याण्डल यसको प्रमुख आकर्षण हुन् ।


Back_to_top