छिट्टै नेपाल आउने तयारीमा ‘किया सिरोस ईभी’, मूल्य आकर्षक हुने

काठमाडौं । कियाले भारतमा हालै सार्वजनिक गरेको नयाँ विद्युतीय एसयूभी ‘सिरोस ईभी’ नेपाल ल्याउने तयारी सुरू भएको छ । कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङले आगामी दशैं, तिहारको अवसर पारेर सिरोस ईभी नेपाल ल्याउने तयारी गरेको हो ।

कम्पनीले सुरूमा ४२ किलोवाट आवर क्षमताको ब्याट्री प्याक भएको स्ट्यान्डर्ड रेन्ज भर्सन नेपाल ल्याउन खोजेको छ । मूल्यका हिसाबले प्रतिस्पर्धी बन्न सानो ब्याट्री भएको भेरियन्ट ल्याउन खोजिएको हो ।

‘हाम्रो लक्ष्य बजारमा आएको प्रोडक्टले अन्य ब्राण्डका समान सेग्मेन्टका ईभीसँग प्रतिस्पर्धा गर्न सकोस् भन्ने हो । त्यसैले उत्पादकसँग प्रतिस्पर्धी बनाउन भनेका छौं । सम्भवत आगामी चाडपर्व अगाडि नेपाल आउन सक्छ,’ कम्पनीका जनरल मेनेजर अनिस लामिछानेले मेरोअटोसँग भने ।

उनले ल्याउन खोजेको मूल्यका विषयमा कुनै ठोस जानकारी नदिएपनि करिब ४० लाख हाराहारीमा बिक्री गर्न मिल्नेगरी सिरोस नेपाल ल्याउने योजनामा कन्टिनेन्टल ट्रेडिङ देखिन्छ ।

डिजाइनका हिसाबले सिरोस ईभी कियाको ईभी सिरिजबाट प्रेरित छ । यसमा १९७ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स दिइएको छ । जुन सब फोर मिटर एसयूभीको बलियो पक्ष हो ।

भित्री भागमा ‘ट्रिनिटी प्यानोरामिक डिस्प्ले’ प्रमुख आकर्षण हो । यसमा दुईवटा १२.३ इन्चका स्क्रिन र बीचमा ५ इन्चको एचभिएसी कन्ट्रोल स्क्रिन दिइएको छ ।

इन्फोटेन्मेन्ट सिस्टममा ब्याट्रीको अवस्था, ऊर्जा खपत, बाँकी रेन्ज, नजिकको चार्जिङ स्टेशन खोज्ने, चार्जिङ समय तालिका बनाउने तथा ब्याट्री प्रि-कन्डिसनिङ जस्ता सुविधा पाउन सकिन्छ ।

सुरक्षामा पनि अब्बल बनाउन खोजिएको सिरोस ईभीमा ६ एयरब्याग, चारै पाङ्ग्रामा डिस्क ब्रेक, टायर प्रेसर मनिटरिङ सिस्टम र आईएसओफिक्स चाइल्ड सिट माउन्ट जस्ता फिचर स्ट्यान्डर्ड रूपमा उपलब्ध छन् ।

माथिल्ला भेरियन्टमा लेभल-२ एडास फिचर छ । जसमा एडाप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट, अगाडि तथा पछाडिको कोलिजन अवोइडेन्स सिस्टम र ब्लाइन्ड स्पट मोनिटरिङ सिस्टम जस्ता चालक उपयोगी फिचर पाउन सकिन्छ ।

कियाले यसमा ४२ र ५१ किलोवाट आवरको ब्याट्री दिएको छ । जुन हुन्डाई क्रेटा ईभीबाट लिइएको हो । गाडीले १०० किलोवाट क्षमताको डीसी फास्ट चार्जर सपोर्ट गर्छ ।


Back_to_top