काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्य आकासिएपछि विश्वभर विद्युतीय सवारीसाधनको बिक्रीमा उछाल आएको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार सन् २०२६ को दोस्रो त्रैमासमा ईभी बिक्री पहिलो त्रैमासको तुलनामा ३५ प्रतिशतले वृद्धि भएको हो ।
आईईएका अनुसार ५० देशमा ईभी बिक्रीले नयाँ कीर्तिमान कायम गरेको छ । संस्थाले विश्व अटोमोबाइल बजार चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको भए पनि इन्धन मूल्यको अस्थिरताले ईभीलाई उपभोक्ताको पहिलो रोजाइ बन्दै गएको जनाएको छ ।
युद्ध सुरू हुनु अगाडि प्रतिब्यारेल करिब ६० अमेरिकी डलर रहेको कच्चा तेलको मूल्य इरानले होर्मुज बन्द गरेपछि झण्डै १२० अमेरिकी डलरसम्म पुगेको थियो । इजरायल र अमेरिकाले फेब्रुअरीमा इरानमाथि आक्रमण गरेपछि उत्पन्न तनावले विश्व ऊर्जा बजारमा ठूलो दबाब सिर्जना गरिरहेको छ ।
आईईएले सडक यातायातले विश्वको कुल तेल खपतको करिब आधा हिस्सा ओगट्ने भएकाले ईभी ऊर्जा सुरक्षाको महत्वपूर्ण विकल्पका रूपमा उभिएको जनाएको छ । विशेषगरी तेल आयातमा निर्भर मुलुकहरूले इन्धन आयात घटाउन र मूल्य वृद्धिको असरबाट उपभोक्तालाई जोगाउन ईभीलाई प्राथमिकता दिन थालेका छन् ।
प्रतिवेदनअनुसार दक्षिण-पूर्वी एसियाका केही तेल आयातमा निर्भर मुलुकहरूले ईभी खरिदलाई प्रोत्साहन गर्न अस्थायी कर छुटसमेत घोषणा गरेका छन् । यस्तै, युरोप, ल्याटिन अमेरिका र दक्षिण-पूर्वी एसियामा सरकारी प्रोत्साहन कार्यक्रमले पनि बजार विस्तारमा योगदान पुर्याएको छ ।
आईईएले यस वर्ष विश्वव्यापी ईभी बिक्री १० प्रतिशतले बढ्ने र कुल सवारी बिक्रीको २९ प्रतिशत हिस्सा ईभीले ओगट्ने अनुमान गरेको छ । यता समग्र अटोमोबाइल बजार भने सन् २०२६ मा संकुचित हुने प्रक्षेपण गरिएको छ ।
प्रतिवेदनका अनुसार वर्षको पहिलो ६ महिनामा युरोपमा ईभी बिक्री ३० प्रतिशतभन्दा बढीले बढेको छ । जुन विश्व बजारमा सबैभन्दा बलियो वृद्धि दर कायम गरेको हो ।


