काठमाडौं । नेपाली बजारमा प्रिमियम इलेक्ट्रीक मोटरसाइकल सेग्मेन्टमा आधारित पहिलो एड्भेन्चर मोडल अल्ट्राभोइलेट एक्स ४७ क्रसओभर १० दिनपछि बिक्री सुरू हुने भएको छ ।
नेपालका लागि अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता कम्पनी वैद्यज् अर्गनाइजेसनले एक्स ४७ क्रसओभर मोटरसाइकल साउन २६ देखि आयोजना हुने नाइमा मोबिलिटी एक्सपोमा लन्च गर्ने भएको हो ।
कम्पनीले हाल उक्त मोटरसाइकल नेपाल ल्याएर विभिन्न सडकहरूमा परीक्षण गरिरहेको छ । साथै, कम्पनीले एक्स ४७ क्रसओभरको प्रि–बुकिङसमेत खुलाइसकेको छ ।
यसअघि नेपालमा अल्ट्राभोइलेटको एफ ७७ स्पोर्ट मोडल उपलब्ध थियो । नेपालमा अल्ट्राभोइलेट डिलर केयिा ग्रुपबाट वैद्यज् ग्रुपले पाएसँगै कम्पनीले पहिलो नयाँ मोडलको रूपमा एक्स ४७ क्रसओभर भित्र्याएको हो ।
नेपाली बजारमा एक्स ४७ पहिलो क्रसओभर इलेक्ट्रीक एड्भेन्चरमा मोटरसाइकल पनि हो । भारतीय दुईपाँग्रे इलेक्ट्रीक ब्राण्ड अल्ट्राभोइलेट भारतसँगै विश्व बजारमा पनि चर्चित छ ।

भारतमा अल्ट्राभोइलेट एक्स ४७ क्रसओभर एक्स ४७, ओरिजिनल, रिकन, डेजर्ट विङ र बेस गरी पाँच भेरियन्टमा उपलब्ध छ । नेपाली बजारमा भने एक्स ४७ र डेजर्ट विङ भेरियन्ट मात्रै उपलब्ध हुनेछ । यो मोटरसाइकलको भेरियन्ट अनुसार केही फिचरहरू फरक फरक पाउन सकिन्छ ।
फ्युचरिस्टिक डिजाइन, एरोस्पेस ग्रेड इन्जिनियरिङ, अत्याधुनिक सुरक्षा प्रविधि र उच्च प्रदर्शनका लागि परिचित अल्ट्राभोइलेट एक्स ४७ क्रसओभर आफ्नो सेगमेन्टमा इन्टिग्रेटेड राडार प्रणालीसहित आउने विश्वकै पहिलो मोटरसाइकल पनि हो ।
यो क्रसओभर एउटा साहसिक एड्भेन्चर डिजाइन शैलीमा छ । यसमा अल्ट्राभोइलेट एफ-७७ कै जस्तो हेडलाइट र अन्य इलेमेन्सहरू प्रयोग भएको छ । साथै, ठूलो विन्डस्क्रीन, नकल गार्डसहितको अग्लो ह्याण्डलबार सेटअप, सिंगल पिस सिट, अप्सनल एशेसरिज, साइडलाइटहरू र पेनियरले मोटरसाइकल टुरिङ र अफरोडका लागि धेरै उत्कृष्ट रहेको देखिन्छ ।
अल्ट्राभोइलेट एक्स ४७ मा कम्पनीले दुई क्यामेराहरू पनि दिएको छ । यसलाई अगाडि र पछाडि सेटअप गरिएको छ । क्यामाराले ड्यासक्यामको रूपमा काम गर्ने र यसले एडास फंसनलाई समेत सहयोग पुर्याउने छ । रियर क्यामाराले पार्क असिस्टको रूपमा काम गर्ने छ ।
निकै एड्भान्स टेक्नोलोजीमा निर्माण गरिएको मोटरसाइकलमा हाइपरसेन्स नामक राडार असिस्टेड सिस्टम र एडास फिचर दिइएको छ । यसले चालकलाई निकै सहायता प्रदान गर्छ ।
राडर सिस्टमले पछाडि एरियाको सबै जानकारी विस्तृत रूपमा दिने काम गर्छ । जस्तै ब्लाइण्ड स्पट निगरानी, पछाडिको टक्कर चेतावनी, लेन परिवर्तन अलर्ट र ओभरटेकिङ सहायता जस्ता सुविधाहरूलाई सक्षम बनाउँछ । राडार सिस्टमले पछाडि मात्र काम गर्छ र यो सबै भेरियन्टहरूमा छ । तर क्यामेराहरू भने सेलेक्टेट भेरियन्टमा मात्रै दिइएको छ ।
मोटरसाइकलमा स्विच गर्न मिल्ने डबल च्यानल एबीएस, ४ लेभलको ट्रयाक्सन कन्ट्रोल, धेरै कुराको डिटेल्स हेर्न सकिने डबल डिस्प्ले, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, हिल होल्ड असिस्ट, डाइनामिक स्ट्याबलिटी कन्ट्रोल सिस्टम पनि छ । यी सबै सिस्टम डिस्प्लेमा सहजै कन्ट्रोल गर्न सकिने छ ।
स्टील ट्रेलिस फ्रेम र कास्ट आल्मिुनियम सबफ्रेममा निर्माण भएको अल्ट्राभोइलेट एड्भेन्चर ईभी मोटरसाइकलमा प्रिलोड एड्जस्टेबल इन्भर्टेड फर्क र मोनोसक सस्पेन्सन सेटअप, ब्रेम्बो डिस्कब्रेक, १७ इन्च अलोय ह्वील र डबल पर्पस ट्युबलेस टायर दिएको छ ।
नयाँ क्रसओभर मोटरसाइकलमा कम्पनीले ३० किलोवाटको इलेक्ट्रीक मोटर दिएको छ । यसले ६१० एनएमको टर्क जेनेरेट गर्छ । यसको टप स्पीड १४५ किलोमिटर प्रतिघण्टा छ, यसले मात्र २.७ सेकेण्डमा ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ ।
यसको रिकन र डेजर्ट विङ भेरियन्ट १०.३ किलोवाट आवरको ब्याट्रीप्याकमा छ । यसले एकपटकको फुलचार्जमा ३२३ किलोमिटरसम्म रेन्ज दिने छ । त्यस्तै, अन्य दुई भेरियन्टमा भने ७.१ किलोवाट आवरको ब्याट्री छ । यसको रेन्ज २११ किलोमिटर रहेको छ । यो ब्याट्री बीएमसी (ब्याट्री व्यवस्थापन प्रणाली) मा पेटेन्ट गरिएको पाँच स्तरको सुरक्षा प्रणाली मेकानिकल, थर्मल, इलेक्ट्रीकल, इलेक्ट्रोनिक र सफ्टवेयर सुरक्षाको साथ आउँछ।
कम्पनीले मोटरसाइकलमै पहिलो पटक १.६ किलोवाटको अनबोर्ड एयर कुल्ड प्रोटेक्टिभ चार्जरको प्रयोग गरेको छ । यसको चार्जर मोबाइलहरूमा पाइने चार्जर जस्तै एकदमै हलुका छ । यसको मतलब भारी चार्जर बोक्नु पर्दैन । यसमा बोक्न पर्ने भनेको चार्जिङ केबल मात्र हो, जुन सजिलै खल्तीमा फिट हुन्छ।


