काठमाडौं । अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले लामो समयदेखि प्रतिक्षा भइरहेको नयाँ पुस्ताको रोडस्टर तयार पारेको छ । कम्पनीले स्पेस एक्ससँगको सहकार्यमा नयाँ जेनेरेसन रोस्टर तयार पारेको हो ।
आगामी अक्टोबर १ तारिखमा सार्वजनिक गर्ने तयारी भएको जानकारी टेस्लाले शनिबार दिएको हो । टेस्लाले रोडस्टरको कन्सेप्ट करिब १० वर्ष अगाडि सार्वजनिक गरेको थियो ।
पछिल्लो समय कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबोटिक्स र स्वचालित ड्राइभिङ प्रविधिलाई प्राथमिकता दिँदै आउँदा रोडस्टरको प्रोजेक्ट पछाडि धकेलिएको थियो ।
यसपटक भने रोडस्टर सार्वजनिक गर्ने मिति घोषणा भएसँगै यसले पुनः चर्चा पाउन थालेको हो । कम्पनीले सार्वजनिक गरेको टिजरमा नयाँ रोडस्टरको धेरै विवरण देखाइएको छैन । तस्बिरमा पछाडिको टेललाइट जस्तो देखिने संरचना र माथिल्लो भागमा चारवटा गोलाकार उपकरण देखिन्छन् ।
यी गोलाकार संरचना स्पेसएक्सले विकास गरेको ‘कोल्ड ग्यास थ्रस्टर’ भएको अनुमान छ । त्यसैले स्पेस एक्ससँग मिलेर तयार पारिएको हो भन्ने चर्चा भएको हो । स्पेस एक्सको उक्त प्रविधिले रोडस्टरलाई केही समयका लागि जमिनबाट माथि उठाउन सक्ने दाबी गरिएको छ ।
अघिल्लो महिना प्रकाशित एक रिपोर्टअनुसार टेस्लाले रोडस्टरका दुई संस्करण विकास गरिरहेको छ । त्यसमध्ये सीमित संख्यामा उत्पादन हुने ‘फ्लाइङ रोडस्टर’ र सडकमा चलाउन मिल्ने नियमित संस्करण हुने दाबी गरिएको थियो ।
स्पेसएक्सका थ्रस्टर प्रयोग भएको मोडल आवाज र अत्यधिक बलका कारण रिमोटबाट संचालन गरिने सम्भावना रहेको रिपोर्टमा उल्लेख छ । यस्तो संस्करणको मूल्य लाखौं डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
टेस्लाका अधिकारीहरूले लामो समयदेखि नयाँ रोडस्टरलाई कम्पनीकै विशेष कारका रूपमा प्रस्तुत गर्दै आएका छन् । टेस्लाका इन्जिनियरिङ उपाध्यक्ष लार्स मोराभीले यसलाई कम्पनीको ‘अन्तिम र उत्कृष्ट ड्राइभिङ कार’ तथा सेल्फ ड्राइभिङ कारको युग सुरू हुनुअघिको ‘स्वान सङ’ भएको बताए ।


