हुन्डाईको नयाँ एसयूभी ‘बायोन’ नाममा आउने पक्का, क्रेटाभन्दा सस्तो हुने

काठमाडौं । दक्षिण कोरियाली कम्पनी हुन्डाईले चाँडै भारतीय बजारमा ल्याउने नयाँ मिडसाइज एसयूभी ‘बायोन’ नाममा आउने भएको छ । हुन्डाई मोटर इन्डियाले भारतमा आउन लागेको आफ्नो नयाँ एसयूभीको नाम ‘बायोन’ रहने पुष्टि गरेको हो ।

बायोन हुन्डाईको एसयूभी पोर्टोफोलियोमा नयाँ ग्लोबल मोडल रूपमा आउने छ । बायोन नाम फ्रान्सेली बास्क क्षेत्रको बायोन शहरबाट लिइएको हो। हुन्डाईका अनुसार यो शहरको विशिष्ट पहिचान र गतिशील भावनासँग जोडिएको नामले नयाँ एसयूभीलाई दिन खोजिएको चरित्रलाई सुहाउँदो बनाएको छ।

कम्पनीले यो नामलाई आफ्नो ग्लोबल डिजाइन दर्शन र भारतमा परिवर्तन हुँदै गएका आवश्यकताहरूका लागि विकसित गरिएको नयाँ एसयूभीको रूपमा जोडेको छ ।

हुन्डाईले बायोनलाई ‘इन्टेलिजेन्ट एसयूभी’ को रूपमा चिनाउँदै यसमा अत्याधुनिक प्रविधिलाई प्राथमिकता दिइने बताएको छ । यसले सहज प्रविधि, डिजाइन र ग्राहक अन्तरक्रियामा ध्यान केन्द्रित गर्ने संकेत गर्छ । यद्यपि, गाडीमा रहने फिचर्स र प्रविधिबारे कम्पनीले औपचारिक खुलासा गरिसकेको छैन ।

कम्पनीको घोषणा अनुसार बायोनले कुनै पुरानो मोडललाई विस्थापित नगरी नयाँ एसयूभी मोडलको रूपमा आउने छ । हुन्डाईले यो मोडल आफ्नो हालको रेन्जको कुन स्थानमा रहनेछ भन्ने आधिकारिक घोषणा गरेको छैन । तर, हुन्डाई भेन्यूभन्दा माथि र क्रेटा भन्दा मुनि रहने अपेक्षा गरिएको छ ।

बायोनलाई पहिले नै बीसी४आइ कोडनेम अन्तर्गत परीक्षणका क्रममा देखिसकिएको छ । यसको लम्बाइ ४.१८ मिटर हुने अनुमान छ ।

सार्वजनिक स्पाइ तस्बिरहरूले ग्लोबल बायोनको तुलनामा अलि फरक र बक्सी डिजाइनको हुनेछ । यसमा स्लीक लाइटिङ एलिमेन्ट, डीआरएल र भित्री भागमा भेन्यूसँग मिल्दोजुल्दो हुन सक्नेछ ।

कम्पनीले यसको इन्जिन क्षमता बारे जानकारी दिएको छैन । तर, यसमा १.५ लिटर, फोर सिलिन्डर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन रहने अपेक्षा गरिएको छ । जुन ६ स्पीड म्यानुअल र सीभीटी गियरबक्स विकल्पहरूसँग आउनेछ। बायोन एसयूभी सीएनजी विकल्पमा पनि उपलब्ध हुनेछ ।

हुन्डाई मोटर इण्डियाका प्रबन्ध निर्देशक तथा सीइओ तरुण गर्गले हुन्डाई बायोनले एउटा नयाँ सोचको प्रतिनिधित्व गर्ने बताए ।

‘हुन्डाई बायोनका साथ हामी नयाँ एसयूभी मात्र ल्याइरहेका छैनौँ। बायोनले एउटा नयाँ सोचको प्रतिनिधित्व गर्छ । जसले हाम्रा ग्राहकहरूका लागि बुद्धिमान, सहज र अर्थपूर्ण अनुभवहरू सिर्जना गर्ने हाम्रो महत्वाकांक्षालाई झल्काउँछ,’उनले भने ।


Back_to_top