अगस्ट ६ देखि बिक्री सुरू हुँदै अपग्रेड भएको ‘दीपल एस-०५’

काठमाडौं । चांगान अटोमोबाइल ग्रुप अन्तर्गतको विद्युतीय सवारी ब्राण्ड दीपलले आफ्नो लोकप्रिय इलेक्ट्रीक एसयूभी एस-०५ लाई अपग्रेड गरेको छ ।

ग्लोबल मोडलको रूपमा बिक्री हुँदै आएको एस-०५ लाई आगामी अगस्ट ६ तारिखबाट औपचारिक बिक्री सुरू गर्ने दिपलको योजना छ ।

कम्पनीले नयाँ एस-०५ एसयूभीमा डिजाइन, स्मार्ट ड्राइभिङ, इन्टेरियर र प्रविधिक परिमार्जन गरेको हो । बाह्य डिजाइनमा एस-०५ को क्लोज्ड अफ ग्रिल पहिलेकै छ । तर ‘फ्लाइङ स्याडो’ डिजाइन, ‘दीपल आई’ हेडल्याम्प, नयाँ १८ इन्चको अलोय ह्वील र सेमी-हिडन डोर ह्याण्डल परिमार्जन भएको छ ।

इन्टेरियरमा पनि ‘फ्लोटिङ स्टारसिप’ डिजाइन प्रयोग गरिएको छ । लेदर फिनिस, उड ग्रेन प्यानल र २५६ रङको एम्बियन्ट लाइटिङको कम्बीनेशनले ड्यासबोर्ड निकै आकर्षक लाग्छ । साथै, १५.६ इन्चको २.५के फ्लोटिङ सेन्ट्रल स्क्रिन र स्टेयरिङ पछाडि रहेको गियर सिफ्टरले केबिनलाई अझ आधुनिक बनाएको छ ।

नयाँ एस०५को सबैभन्दा ठूलो आकर्षण भने लाइडारमा आधारित ‘एडीए पाइलट’ स्मार्ट ड्राइभिङ सिस्टम हो । यसमा लाइडार सेन्सरसहित २६ वटा उच्च क्षमताका सेन्सर जडान भएका छन् । कम्पनीका अनुसार यसले शहरी सडक, हाइवे तथा पार्किङ अवस्थालाई समेट्ने ९० भन्दा बढी स्मार्ट ड्राइभिङ फिचर उपलब्ध गराउँछ ।

स्मार्ट ककपिटलाई ‘३ एनएम’ अटोमोटिभ-ग्रेड चिपले संचालन गर्छ । यसमा दीपल ओएससँगै डिपसिक आर१ जोडिएको छ । आरामदायी ड्राइभिङका लागि एस ०५मा एफएसडीसँगै एचआरएस ‘भेरिएबल एडाप्टिभ सस्पेन्सन’ दिइएको छ ।

यसमा पावर पनि वृद्धि गरिएको छ । रियर ह्वील ड्राइभ सिस्टम सहित २०५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । यसमा गोल्डन सिल ब्याट्री रहेको छ । थ्रीसी फास्ट चार्जिङ सपोर्ट गर्ने ब्याट्रीलाई १५ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ ।


Back_to_top