काठमाडौं । भारत सरकारले चार मिटरभन्दा छोटा एसयूभीमा दिएको अनुदानको कारण भारतमा कार उत्पादन गर्ने ब्राण्डहरुको पहिलो रोजाईमा यो सेग्मेन्ट पर्दै गएको छ । भारतीय बजारमा कम मूल्यमा एसयूभी डिजाइन खोज्ने ग्राहक बढेसँगै सब फोर मिटर सेग्मेन्टमा एकपछि अर्को नयाँ मोडल आइरहेका हुन् ।
यो सेग्मेन्टमा सबैभन्दा पहिला आएको एसयूभी फोर्ड इकोस्पोर्ट हो । कम्पनीले ६ महिनाअघि भारतीय प्लान्ट सर्टडाउन गरेको कारण यसको उत्पादन बन्द भएको छ । त्यसपछि सन् २०१६ मा मारुती सुजुकी ब्रेजा, २०१७ मा टाटा नेक्सन, २०१९ मा हुन्डाई भेन्यू र महिन्द्रा एक्सयूभी ३०० बजारमा आएका हुन् ।
त्यसैगरी यही सेग्मेन्टमा कियाले सोनेट, निसानले म्याग्नाइट र रेनोले काइगर बजारमा ल्याएका थिए । अहिले यी सबै मोडलले राम्रो संख्यामा ग्राहक पाइरहेका छन् । केही दिन भित्रै यो सेग्मेन्टमा सिट्रोनले सि थ्री मोडल ल्याउँदै छ । साथै जीप, होन्डा जस्ता ब्राण्डले नयाँ मोडल बजारमा ल्याउने तयारी गरिरहेका छन् ।
दुई महिनापछि होन्डाको एसयूभी आउने
भारतीय बजारमा सब फोर मिटर सेग्मेन्टमा डब्लूआर-भी मोडल ल्याएको होन्डाले यसको उत्पादन बन्द गर्दै नयाँ मोडल ल्याउन लागेको हो । कम्पनीले ल्याउने नयाँ एसयूभी निकै फिचर लोडेड हुनेछ । यसलाई पनि डब्लूआर-भी कै प्लेटफर्ममा उत्पादन गर्ने जनाइएको छ ।
यसलाई तीन इन्जिन अप्सनमा ल्याउने तयारी कम्पनीले गरिरहेको छ । यसमा १.२ लिटर नेचुरल्ली एस्पीरेटेड पेट्रोल र १.५ लिटर डिजेल इन्जिन दिने तयारी गरिरहेको रिपोर्ट सार्वजनिक भएका छन् । यसमा रहेको १.२ लिटर इन्जिनले ८९ पीएस पावर र ११० एनएम टर्क प्रदान गर्नेछ भने डिजेल इन्जिनले ९९ पीएस पावर र २०० एनएम टर्क प्रदान गर्नेछ ।
कम्पनीले टप भेरियन्टमा १.५ लिटर पेट्रोल इन्जिनको पनि प्रयोग गर्ने छ । कम्पनीले यसलाई ‘थ्रीयूएस’ कोड नेम दिएर उत्पादनको काम गरिरहेको छ ।

