काठमाडौं । जावा मोटरसाइकलको मूल्य बढ्ने संकेत कम्पनीले गरेको छ । जावा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी अग्नी ग्रुप अन्तर्गतको अग्नी मोटो इंकले आफ्नो आधिकारीक पेज मार्फत मोटरसाइकलको मूल्य बढ्ने जानकारी दिएको हो ।
जावाको अफिसियल पेजमा मोटरसाइकलको मूल्य बढ्ने भनिएको छ । सरकारले ल्याएको २०७९÷०८० को बजेटले २०० सीसीभन्दा माथिका मोटरसाइकलमा कर र भन्सार दर बढाएका कारण धेरै कम्पनीले मूल्य वृद्धि गरिसकेका छन् । जावाले अहिलेसम्म पुरानै मूल्यमा मोटरसाइकल विक्री गर्दै आएको थियो । जावाका सबै मोटरसाइकल ३०० सीसी सेग्मेन्टका छन् ।
कम्पनीले मोटरसाइकलको मूल्य बढ्नु अघि नै फाइदा लिन ग्राहकलाई अनुरोध गरेको हो । जावाका तीन मोडलका मोटरसाइकल नेपाली बजारमा विक्री भइरहेका छन् । जसमा जावा, जावा फोर्टी टू र जावा पेरका छन् ।
जावा क्लासिक मोडलको मूल्य ७ लाख ५ हजारदेखि ७ लाख ३५ हजार रुपैयाँसम्म रहेको छ । साथै, जावा फोर्टी टूको मूल्य ६ लाख ७३ हजारदेखि ७ लाख ४ हजार रुपैयाँसम्म रहेको छ ।
त्यस्तै जावा पेराकको मूल्य ८ लाख २० हजार रुपैयाँ रहेको छ । जावाले नयाँ आर्थिक वर्षदेखि लागु हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गर्ने अनुमान गरिएको छ । यी तीनै मोटरसाइकलका मूल्य ५० हजारदेखि ८० हजार रुपैयाँसम्मले बढ्ने अनुमान गर्न सकिन्छ ।


