काठमाडौं । महिन्द्राले आगामी अगस्ट १५ मा तीनवटा इलेक्ट्रीक भेहिकलको कन्सेप्ट डिजाइन सार्वजनिक गर्दैछ । भारतीय अटोमोवाइल कम्पनी महिन्द्राले यी डिजाइन भारतबाट नभएर वेलायतमा सार्वजनिक गर्न लागेको हो ।
भारतीय कम्पनी महिन्द्राको यी कन्सेप्ट ईभीको डिजाइन महिन्द्रा एड्भान्स डिजाइन युरोपले गरेको हो । यूरोपमा गरेको डिजाइनलाई कम्पनीले बेलायतबाट सार्वजनिक गर्न लागेको हो ।
कम्पनीले आधिकारीक रुपमा जानकारी नदिएपनि विभिन्न रिपोर्टहरुले जनाए अनुसार सार्वजनिक हुन लागेको तीनवटा ईभी कन्सेप्ट मध्ये एक पीकअप ट्रक हुनेछ ।
महिन्द्राको पहिलो लाइफस्टाइल इलेक्ट्रीक पीकअप उत्तर अमेरिकी राज्यका बजारलाई लक्षित गरेर तयार गरिएको अनुमान गर्न सकिन्छ । यसको इन्जिनियरिङ पार्ट भने महिन्द्रा नर्थ अमेरिकन टेक्नीकल सेन्टरले हेर्नेछ ।
महिन्द्राको यो नयाँ पीकअप हालै मात्र कम्पोनेन्ट सेयरिङको लागि सम्झौंता भएको फक्सवागेन ग्रुपको मोडुलर प्लेटफर्ममा आधारित हुनेछ । महिन्द्राले ईभीको क्रिटीकल कम्पोनेन्टहरु भने फक्सवागेनको ‘एमइबी इलेक्ट्रीक प्ल्याटफर्म’को नै प्रयोग गर्नेछ ।
महिन्द्राको पहिलो लाइफस्टाइल ईभी पीकअप दुई मोटर अप्सनमा आउने छ भने यसमा प्रयोग हुने ब्याट्री एलजी र चाइनीज सप्लायरबाट प्राप्त हुनेछ । यद्यपि, यसको क्यापासीटीको बारेमा केही जानकारी प्राप्त भएको छैन । तर, महिन्द्राले ल्याउदै गरेको यी तीनवटै ईभीको रेन्ज भने ४०० किलोमिटर भन्दा माथि रहने छ ।

