नेपाल आउने भयो डबल च्यानल एबीएस भएको पावरफुल इलेक्ट्रीक स्कुटर

काठमाडौं । सीएफ मोटोको सहायक कम्पनी जिहोको इलेक्ट्रीक स्कुटर नेपालमा सार्वजनिक हुने भएको छ । हिमालय मोटोरार्डले जिहो ब्रान्डको इलेक्ट्रीक स्कुटर नेपाल ल्याउने भएको हो ।

कम्पनीले जिहो ब्राण्डको एकदमै पावर फुल प्रिमियम स्कुटर नेपाल ल्याउन लागेको हो । हिमालय मोटोरार्डका अनुसार जिहोको ‘एइ८’ स्कुटर नाडा ईभी एक्स्पो २०२२’मा सार्वजनिक हुने छ ।

चिनियाँ कम्पनी जिहोको उत्पादन ‘एइ८’ एग्रेसीभ मस्कुलर डिजाइनमा उपलब्ध हुनेछ । यो स्कुटरको फ्रन्टमा ठूलो फेन्डर दिइएको छ । यसले स्कुटरको फ्रन्ट टायरसम्म नै ढाकेको छ । यसको साइड प्यानलमा नौलो डिजाइनको टर्न इन्डिकेटर दिइएको छ । त्यस्तै रियरमा आकर्षक एलइडी ब्रेक लाइट पाउन सकिन्छ ।

एइ८ स्कुटरमा १२.५ किलोवाट क्षमताको लिक्वीड कुल्ड मोटर रहेको छ । यसले २१८ एनएम टर्क जेनेरेट गर्छ भने १६.७ हर्सपावर जेनेरेट गर्छ । जुन २०० सीसी सेग्मेन्टको मोटरसाइकल बराबरको पावर हो ।

यसको टस स्पीड क्षमता १०० किलोमिटर प्रतिघन्टा रहेको छ । यो स्कुटले ०-५० को स्पीड मात्र २.६ सेकेन्डमा भेट्टाउने छ । यसमा रिमुभ एबल लिथियम आयोन डबल ब्याट्री अप्सन दिइएको छ । आइडियल कन्डिसनमा स्कुटरलाई एक पटकको फुल चार्जमा १९० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दावी छ ।

स्कुटरलाई फुल चार्ज गर्न ६ घन्टा समय लाग्नेछ । यसमा फास्ट चार्जिङको सुबिधासमेत उपलब्ध छ । यो स्कुटर नेपालमा नै पहिलो एबीएस भएको स्कुटर हुनेछ । जिहो एइ८ मा डबल च्यानल एबीससहितको डिस्क ब्रेक उपलब्ध रहेको छ ।

यो स्कुटरमा ५ इन्चको एलसीडी कर्भ इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । त्यस्तै यसमा तीन राइड मोड, एडप्टीभ हेडल्याम्प, डिस्र्टवेन्स अर्लाम, एन्टि थेफ्ट अर्लाम, स्मार्ट कनेक्ट जस्ता फिचर उपलब्ध छन् ।

ईभी एक्स्पोमा जसरी पनि देखाउनको लागि कम्पनीले केही यूनिट स्कुटर चीनबाट सिधै प्लेनमा राखेर नेपाल ल्याउन लागेको जानकारी दिएको छ ।


Back_to_top