ईभी एक्स्पो २०२२ मा १६ लाखदेखि २ करोडमाथिका कार (सबै मोडलको मूल्यसहित)

काठमाडौं । असोज ६ गतेबाट सुरु भएको नाडा ईभी एक्स्पो २०२२ आज आइतबार समापन हुँदैछ । आज बेलुका ५ बजे ईभी एक्स्पो समापन गरिने नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले जनाएको छ । तीन दिनदेखि चलिरहेको एक्स्पोमा १६ लाखदेखि २ करोड ३५ लाखसम्म मूल्य पर्ने विद्युतीय कार राखिएको छ ।

ईभी एक्स्पोमा नेपालमा विद्युतीय कार विक्री गर्दै आएका विभिन्न कम्पनीहरुले सहभागिता जनाएका छन् । अहिले गाडीको उपलब्धता नभएको भन्दै एमजी र कियाले अटो एक्स्पोमा सहभागिता जनाएनन् ।

ईभी एक्स्पोमा टेस्ला, हुन्डाई, टाटा, बीवाइडी, नेटा, जेएसी, सिटी स्प्रीट, जेम्स, चांगन ब्राण्डका विद्युतीय सवारीसाधन प्रदर्शनी गरिएको छ । यी सबै ब्राण्डले राम्रै अवलोकनकर्ता पाइरहेको एक्स्पोमा देख्न सकिन्छ ।

एक्स्पोमा हुन्डाईले कोना र आयोनिक मोडल प्रदर्शनीमा राखेको छ । कम्पनीले कोना विभिन्न दुई भेरियन्टमा विक्री गर्दै आएको छ । कोना जीएलको मूल्य ६० लाख ५६ हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी कोनाको जीएलएस भेरियन्टको मूल्य ६२ लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ ।

 

त्यसैगरी हुन्डाईले एक्स्पोमा राखेको अर्को मोडल आयोनीक फाइभ हो । यसको मूल्य १ करोड १६ लाख ९६ हजार तोकिएको छ ।

टाटाले धेरै भेरियन्टमा ईभी उपलब्ध गराएको छ । टाटाले ईभी एक्स्पोमा टिगोर र नेक्सन ईभी प्रदर्शनी गरेको छ । कम्पनीले टिगोर ईभी दुई भेरियन्टमा उपलब्ध गराएको छ भने नेक्सन ईभी ५ भेरियन्टमा विक्री गर्दै आएको छ ।

कम्पनीले विक्री गर्ने सबैभन्दा सस्तो मूल्यको ईभी टिगोर एक्सएम (मिड अप्सन)को मूल्य ३१ लाख ४९ हजार र टप भेरियन्ट एक्सजेड प्लसको मूल्य २ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी, टाटाको सर्वाधिक सफल ईभी नेक्सनको एक्सएम भेरियन्टको मूल्य ३७ लाख ९९ हजार, एक्सजेड प्लसका ३९ लाख ९९ हजार, एक्सजेड प्लस लक्जरी भेरियन्टको ४१ लाख ९९ हजार रुपैयाँ तोकेर विक्री गर्दै आएको छ ।

नेक्सन ईभी डार्क एडिसन भने दुई भेरियन्टमा उपलब्ध रहेको छ । कम्पनीले एक्सजेड प्लस डार्क एडिसनको मूल्य ४१ लाख ९९ हजार र एक्सजेड प्लस लक्जरीको ४३ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

अर्को चर्चित ब्राण्ड बीवाइडीले एउटा मात्रै मोडल ई सिक्स प्रदर्शनीमा राखेको छ भने स्टलमा एटो थ्री ब्राडिङ गरेको छ । कम्पनीले विक्री गर्दै आएको ई सिक्सको मूल्य ५९ लाख रुपैयाँ रहेको छ ।

विश्व चर्चित इलेक्ट्रीक कार ब्राण्ड टेस्लाले पनि अटो एक्स्पोमा दुई मोडलका कार प्रदर्शनी गरेको छ । टेस्लाको मोडल ३ र मोडल वाई अटो शोमा छन् । कम्पनीले टेस्ला मोडल थ्रीको मूल्य १ करोड ५५ लाख र मोडल वाईको मूल्य २ करोड ३५ लाख तोकेर विक्री गर्दै आएको छ ।

मेलाको अर्को आकर्षण बनिरहेको नेटा भी कम मूल्यमा फिचर लोडेड कार भएको कारण धेरै मानिसले किन्न चासो देखाएको पाइन्छ । एउटा मात्रै भेरियन्टमा उपलब्ध नेटा भीको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

सिटी स्प्रीटको सानो कार पनि अटो एक्सपोमा प्रदर्शन गरिएको छ । यसको मूल्य भने १६ लाख तोकेर विक्रीको लागि राखिएको छ ।

चांगनको इलेक्ट्रीक भ्यानको मूल्य ४२ लाख ५० हजार रुपैयाँ तोकेर विक्रीको लागि ईभी एक्स्पोमा राखिएको छ । साथै, दिगोले जेएसीको टी एट पीकअप ७१ लाख ९५ हजार रुपैयाँ मूल्य कायम गरेर प्रदर्शनीमा राखेको छ ।

त्यसैगरी जेम्स माइक्रोबस र जेम्स ट्रक पनि अटो एक्स्पोमा राखिएका छन् । जेम्स माइक्रोबसको मूल्य ३८ लाख ५० हजार र जेम्स ट्रकको मूल्य ३७ लाख ५० हजार रुपैयाँ रहेको छ ।


Back_to_top