भृकुटीमण्डपमा बजाजको तीन पावरफुल मोटरसाइकल विक्री सुरु

काठमाडौं । काठमाडौंको भृकटीमण्डपमा शुरु भएको एक्सचेन्ज क्याम्पमा बजाजले तीन नयाँ मोडलका मोटरसाइकलको विक्री सुरु गरेको छ । बजाज मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनीले तीन नयाँ मोटरसाइकलको विक्री सुरु गरेको हो ।

कम्पनीले बजाज एनएस सिरिजकै सबैभन्दा सानो मोटरसाइकल र पल्सर सिरिजकै सबैभन्दा ठुलो मोटरसाइकलको एकैपटक विक्री सुरु गरेको हो ।

हंशराज हुलास चन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले बजाज पल्सर एनएस १२५, पल्सर एन १६० र पल्सर एन २५० सार्वजनिक गरेका हुन् । यी तीन मोटरसाइकलको मूल्य २ लाख ७९ हजार ९००, ३ लाख ७९ हजार ९०० रुपैयाँ र बजाज पल्सर एन २५० को मूल्य ४ लाख ८९ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको हो ।

कम्पनीले नाडा अटो शोमा सार्वजनिक गर्ने भनिएको मोटरसाइकलहरु नाडा अटो शो स्थगित भएसँगै एक्सचेन्ज क्याम्प आयोजना गरेर सार्वजनिक गरेको हो ।

यस्तो छ पल्सर एन २५०

पल्सर एन २५० निकै स्पोर्टी डिजाइनमा तयार भएको छ । हिम चितुवाको आँखा जस्तो हेडल्याम्प रहेको यो मोटसाइकल निकै आकर्षक देखिन्छ । यसलाई धेरैले नयाँ जेनेरेशन पल्सर पनि भन्छन् ।

यो मोटरसाइकलमा २४९ सीसी सिगंल सिलिन्डर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, आयलकुल्ड, एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले ८७५० आरपीएममा उच्चतम २४.५ पीएस पावर जेनेरेट गर्छ भने ६५०० आरपीएममा २१.५ एनएम टर्क जेनेरेट गर्छ ।

बजाजले नयाँ पल्सर एन २५० को दुवै ह्वीलमा डिस्क ब्रेक दिएको छ । यसको फ्रन्टमा ३०० एमएम र रियरमा २३० एमएमको डिस्क पाउन सकिन्छ । यसमा डबल च्यानल एबीएस फिचर पनि पाउन सकिन्छ ।

१७ इन्चको अलोय ह्वील, फ्रन्टमा टेलिस्कोपीक सस्पेन्सन र रियरमा निट्रोक्स मोनोसक पाउन सकिन्छ । एनालगसहितको डिजिटल कन्सोल, वाइ फंग्सनल एलइडी प्रोजेक्टर हेडल्याम जस्ता फिचरले यसलाई उत्कृष्ट बनाएको छ ।

पल्सर एन १६०

यसअघि पल्सर एनएस १६० नामबाट उपलब्ध मोटरसाइकलको सट्टामा पल्सर एन १६० आएको हो । कम्पनीले यसको इन्जिन, ह्वील, इन्धन ट्याङ्की, बडी प्यानल, हेडलाईट, टेललाइट, इन्ट्रुमेन्ट क्लष्टरदेखि एगजस्टसम्म परिवर्तन गरेको छ । निकै फ्रेस लुक्समा देखिएको पल्सर एन १६० आफ्नो नयाँ जेनेरेशन मोडल पल्सर २५० एनको बेबी भर्सन भन्दा फरक पर्दैन ।

बजाजको पल्सर १६० एनमा ट्वीन भर्टिकल एलइडी टेलल्याम्प, वाई सेपको अलोय ह्वील, स्प्लीट ग्रावरेल, अन्डरवेली एग्जस्ट दिएको छ । साथै, आइब्रो डिजाइनमा एलइडी डेटाइम रनिङ लाइट, अगाडि सानो विन्ड स्कृन, सार्प र मस्कुलर डिजाइनको इन्धन ट्याङ्की पाउन सकिन्छ ।

यसमा कम्पनीले १६४.८ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । यो इन्जिनले अधिकतम १६ पीएस पावर र १४.६ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स रहेको छ ।

बजाजले १६० एनमा पनि सेमी डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिएको छ । साथै, डबल च्यानल एबीएस र दुबै चक्कामा डिस्क ब्रेक, १७ इन्चको ह्वील पाउन सकिन्छ ।

पल्सर एनएस १२५

पल्सर सिरिजकै सबैभन्दा सानो मोटरसाइकल एनएस १२५ एनएस सिरिजकै बडी डिजाइनमा तयार गरिएको छ । एनएस १२५ मा १२४.४५ सीसीको सिंगल सिलिण्डर एयरकुल्ड, २ भल्भ इलेक्ट्रोनिक्स एफआई इन्जिनको प्रयोग गरेको छ । उक्त इन्जिनले अधिकतम १२ पीएस पावर र ११ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।

एनएस १२५ को अगाडि टेलिस्कोपिक फर्क र पछाडि निट्रो मोनोशक रहेको मोटरसाइलको अगाडि २४० एमएमको डिस्क र पछाडि १३० एमएमको ड्रम ब्रेक दिइएको छ । कम्बी ब्रेकिङ सिस्टम, १७ इन्चको अलोय ह्वील, १२ लिटरको इन्धन ट्याङ्क, १७९ एमएमको ग्राउन्ड क्लियरेन्स यसमा पाउन सकिन्छ ।

ट्याङगुलर हेलोजिन हेडल्याम्प, सेमि डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, एलइडी टेल ल्याम्प, वल्व इन्डिकेटर जस्ता विशेषता बजाजले एनएस १२५ मा दिएको छ ।


Back_to_top