केही घन्टाको फरकमा दुई इलेक्ट्रीक एसयूभीको मूल्य सार्वजनिक

काठमाडौं । इलेक्ट्रीक एसयूभीको माग बढ्दै गएसँगै नेपालमा नयाँ नयाँ मोडल आइरहेका छन् । चिनियाँ इलेक्ट्रीक गाडी उत्पादनमा महारथ हासिल गरेको बीवाइडीले आफ्नो पछिल्लो ग्लोवल मोडल एटो थ्री हिजो शनिवार नेपालमा सार्वजनिक गरेको छ ।

बीवाइडीले एटो थ्री सार्वजनिक गरेको केही घन्टा भित्रै एमजीले पनि आफ्नो जेडएस ईभीको लङ रेन्ज मोडलको बुकिङ खुल्ला गरेको हो । रेन्जका हिसावले लगभग उस्तै रहेको यी दुई मोडलको साइज, मूल्य र पावर भने फरक पाउन सकिन्छ ।

हिजो साँझ बीवाइडीको आधिकारीक वितरक साइमेक्स इंकले ८९ लाख ९० हजार मूल्य तोकेर एटो थ्री बजारमा ल्याएको थियो । आज विहान एमजीले ८१ लाख ९९ हजार मूल्य राखेर लङ रेन्ज जेडएस ईभीको बुकिङ खुल्ला गरेको हो । यी दुई गाडीको मूल्यमा झण्डै ८ लाख रुपैयाँको फरक पाउन सकिन्छ ।

यी दुबै गाडीको आ-आफ्नै विशेषता छन् । बीवाइडी एटो थ्री पूर्ण इलेक्ट्रीक प्लेटफर्ममा बनेको क्रसओभर एसयूभी हो । निकै स्टाइलिस बडी डिजाइन र प्रिमियम इन्टेरियरको कारण अहिले विश्व बजारमा एटो थ्रीको चर्चा भइरहेको छ ।

जेडएस ईभी एमजीले आफ्नो चल्तीको कम्बस्चन इन्जिन युक्त मोडललाई ईभीमा उत्पादन गरेको हाे । त्यसैले यसलाई परम्परागत गाडी जस्तै देखिन्छ । यद्यपि, फेसलिफ्ट मोडललाई भने कम्पनीले फरक लुक्स प्रदान गर्ने कोशिष गरेको छ ।

दुबै कारमा ‘एडीएएस’ सुरक्षा फिचर दिइएको छ । सुरक्षाको मामलामा दुबै मोडलले उस्तै फाइभ स्टार रेटिङ पाएका छन् । तर, विल्कुलै नयाँ मोडल भएको कारण एटो थ्री निकै एड्भान्स र लग्जरी देखिन्छ ।

साइजमा पनि एटो थ्री अगाडि छ । एटो थ्री क्रसओभर डिजाइनमा भएको कारण उचाईमा जेडएसले बाजी मारेको छ । लम्बाई र चौडाईमा एटो थ्री निकै अगाडि छ । ह्वील वेस र ह्वील साइजमा पनि एटो थ्रीले बाजी मारेको छ ।

डब्लूएलटीपीले प्रमाणित गरेको रेन्जमा जेडएस ईभी अगाडि छ । डब्लूएलटीपीको अनुसार जेडएस ईभीले सिंगल चार्जमा ४४० किलोमिटर र एटो थ्रीले ४२० किलोमिटर रेन्ज प्रदान गर्नेछ । जेडएस ईभीमा ११५ किलोवाटको मोटर रहेको छ भने एटो थ्रीमा १५० किलोवाटको मोटर पाउन सकिन्छ । ब्याट्री पनि जेडएस ईभीमा ठूलो छ । जेडएसमा ७२ किलोवाट र एटो थ्रीमा ६० किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ ।

विश्वकै ठूलो ब्याट्री निर्माता कम्पनी सिएटीएलले उत्पादन गरेको लिथियम आयोन ब्याट्री जेडएस ईभीमा छ भने, बीवाइडीको चर्चित ब्लेड ब्याट्री एटो थ्रीमा छ । जेडएसले सून्यदेखि १०० किमिसम्मको गति भेट्टाउन ८.६ मिनेट लगाउँछ भने एटो थ्रीले ७.३ सेकेन्ड मात्रै लगाउँछ ।

दुबै गाडीमा पानारोमिक सनरुफ, इन्फोटेन्टमेन्ट सिस्टम, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर जस्ता फिचर पाउन सकिन्छ । बीवाइडीले एटो थ्रीको ब्याट्रीमा ८ वर्ष वा ५ लाख किलोमिटर जुन पहिला आउँछ, त्यो पाउने गरी वारेन्टी दिएको छ । एमजीले भने जेडएसमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर मध्ये जुन पहिला आउँछ, त्यो वारेन्टी प्रदान गरेको छ ।


Back_to_top