काठमाडौं । नेपालमा सर्वाधिक सफल इलेक्ट्रीक एसयूभी एमजी जेडएस ईभीको बुकिङ खुल्ला भएको छ । एमजीको आधिकारीक विक्रेता पारामाउन्ट मोटर्सले जेडएस ईभीको लङ रेन्ज मोडलको बुकिङ खुल्ला गरेको हो ।
कम्पनीले जेडएस ईभीको लङ रेन्जको मूल्य ८१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर बुकिङ खुल्ला गरेको हो । यसको लङ रेन्ज मोडलमा ७२.६ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिइएको छ । यसलाई एक पटक फुलचार्ज गर्दा ४४० किलोमिटर चलाउन सकिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।
यसले १५० किलोवाट क्षमताको डिसी चार्जर सपोर्ट गर्न सक्छ । यसलाई डिसी चार्जरले ३७ मिनेट चार्जगर्दा २९२ किलोमिटर गुडाउन सकिन्छ । साथै, ७.४ किलोवाट क्षमताको एसी चार्जरले ११ घन्टामा फुल चार्ज गर्नेछ ।
एमजी जेडएस ईभी नेपालमा सर्वाधिक सफल एसयूभी हो । विद्युतीय गाडी किन्नेको पहिलो रोजाईमा परेको जेडएस ईभी यसअघिको तुलनामा केही परिमार्जन भएर २०२२ को सुरुवातमै नेपालमा सार्वजनिक भएको थियो ।
त्यतिबेला पारामाउन्ट मोटर्सले लङ रेन्ज मोडलको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकेर बुकिङ लिएको थियो । तर, सरकारले १०० किलोवाट माथिको गाडीमा भन्सार र अन्तःशुल्क बढाएपछि जेडएस ईभी नेपाल आएन ।
सन् २०२१ मा फेसलिफ्ट जेडएस ईभी बजारमा आएको थियो । पहिलेको तुलनामा परिमार्जन सहित आएको जेडएस ईभीमा अगाडिको फेसिकादेखि अलोय ह्वीलसम्म परिवर्तन भएको छ । साथै, कम्पनीले यसको ड्यासवोर्ड र सुरक्षा फिचरमा पनि परिमार्जन गरेको छ ।
रिडिजाइन बम्पर, नयाँ हेडल्याम्प र टेलल्याम्प, बडी कलरको फ्रन्ट ग्रिल, १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, आई–स्मार्ट कनेक्ट कार टेक्नोलोजी जस्ता फिचर यसमा थप भएर आउने छ ।

