काठमाडौं । एमजी मोटर्स इन्डियाका प्रेसिडेन्ट एण्ड म्यानेजिङ डाइरेक्टर राजिव छावाले भारतीय बजारमा चाँडै कम मूल्यको विद्युतीय कार सार्वजनिक गर्ने बताएका छन् । उनले मिडिया अन्तर्वार्तामा एमजीको नयाँ ईभी भारतकै सबैभन्दा कम मूल्यको हुने जनाएका हुन् । अहिले भारतमा सार्वजनिक भएको मध्ये सबैभन्दा सस्तो मोडल टाटा टियागो हो ।
बेलायती अटोमोवाइल ब्राण्ड मोरिस ग्यारेजले भारतीय बजारको लागि सानो साइजको इलेक्ट्रीक भेहिकल उत्पादन र परिक्षणको काम भइरहेको यसअघि प्रकाशित विभिन्न रिपोर्टहरुमा उल्लेख छ । कम्पनीले सन् २०२३ जनवरीमा नयाँ ईभी बजारमा ल्याउने छ ।
चीनमा एसएआईसी, विलिङ र एमजी मिलेर बनाएको विलिङ मिनीलाई नै एमजीले ७० प्रतिशत स्थानिय कच्चा पदार्थको प्रयोग गरेर भारतमा बनाउन लागेको हो । विशेषत सहरी क्षेत्रका ग्राहकलाई लक्षित गर्दै आउन लागेको यो ईभी सिंगल चार्जमा २०० देखि ३०० किलोमिटरसम्म रेन्ज प्रदान गर्न सक्ने किसिमको हुनेछ ।
एमजीले मिनी ईभीमा २० देखि २५ किलोवाटसम्मको ब्याट्री र ४० हर्सपावर हाराहारीको इलेक्ट्रीक मोटर दिने छ । भारतमा विक्री सुरु भएको केही महिना भित्रै नेपाल आउने यो ईभी किनै किफायती हुने सहजै अनुमान लगाउन सकिन्छ ।

एमजीले आफ्नो भारतमा रहेको गुजरातको हलोल प्लान्ट ईभी उत्पादनमा प्रयोग गर्ने भएको छ । कम्पनीले सन् २०२३ को सुरुवातसँगै गाडीको उत्पादन दोब्बर संख्यामा बढाउने योजना सार्वजनिक गरेको छ । अहिले वार्षिक ५५ देखि ५६ हजार यूनिट एमजीका गाडी भारतमा उत्पादन हुँदै आएको छ ।
भारतीय उत्पादन नेपाली बजारमा उपलब्ध हुन थालेको छ । यसै कारण कम्पनीले ल्याउने कम मूल्यको ईभी नेपाली बजारमा पनि चाँडै आउने सहजै अनुमान गर्न सकिन्छ ।


