टोयोटा हाइलक्स इलेक्ट्रीकमा

काठमाडौं । विश्वकै अग्रणी अटो उत्पादक कम्पनी टोयोटाले एक वर्ष अगाडि एक दर्जभन्दा धेरै इलेक्ट्रीक सवारीसाधनको कन्सेप्ट सार्वजनिक गरेर आफू न्यू इनर्जी टेक्नोलोजीमा दृढ रहेको उल्लेख गरेको थियो ।

विश्वका ठूलादेखि सानासम्म अटो उत्पादकहरु इलेक्ट्रीक पीकअपको अनुसन्धान र उत्पादनमा लागिरहेका छन् । तर, टोयोटाले आफ्नो प्रतिबद्धता अनुसार देखाएको कन्सेप्टमा के कति काम भइरहेको छ भन्ने आधिकारीक जानकारी दिएको छैन ।

थाइल्याण्डमा डिसेम्बरको पहिलो हप्ता सुरु भएको मोटर एक्स्पो २०२२ मा टोयोटाले नयाँ इलेक्ट्रीक पीकअपको प्रोटोटाइप देखाएको छ । कम्पनीले देखाएको प्रोटोटाइप हाइलक्सको ईभी सस्करण हो । टोयोटा हाइलक्स पीकअप थाइल्याण्डमा उत्पादन भएर विश्वव्यापी उत्कुष्ट विक्री हुने मोडलमा पर्छ । त्यसैले यसको इलेक्ट्रीक मोडल पनि थाइल्याण्डमा नै उत्पादन हुने अनुमान गरिएको छ ।

पीकअपको पर्याय बनेको हाइलक्स अहिलेसम्म ८ औं जेनेरेशन मोडलसम्म बजारमा आइसकेको छ । टोयोटाले आफ्नो थाइल्याण्डमा उत्पादन थालेको ६० वर्ष पुरागरेको अवसरमा हाइलक्स रेभो बीइभी सार्वजनिक गरेको हो ।

इलेक्ट्रीक पीकअप पनि हाइलक्स डिजेल जस्तै डिजाइनमा देखिएता पनि यसमा क्लोजअफ ग्रिल र अगाडि फेन्डरमा चार्जिङ पोर्ट दिइएको छ । टोयोटाले देखाएको इलेक्ट्रीक हाइलक्स सिंगल क्याव मोडल हो । लगभग विक्रीको लागि तयार जस्तै देखिएको इलेक्ट्रीक पीकअप कहिलेबाट बजारमा आउँछ भन्ने जानकारी कम्पनीले दिएको छैन ।

कम्पनीले यो नयाँ पीकअपको ब्याट्री साइज तथा मोटरको बारमा पनि कुनै आधिकारीक विवरण सार्वजनिक गरेको छैन । अहिले इलेक्ट्रीकमा सिंगल क्याव डिजाइन मात्रै देखाइएको हाइलक्स चाँडै डबल क्यावमा पनि आनुमान गर्न सकिन्छ ।


Back_to_top