गाडी बेच्ने वातावरण बनाउन नाडाको माग, गाडी छुटाउन विभागको आग्रह

काठमाडौं । नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक चक्रवहादुर बुढासँग भेटेर भन्सार नाकामा जम्मा भएका सवारी साधनहरुको भन्सार जाँचपास गर्ने विषयमा छलफल गरेको छ ।

उक्त छलफलमा उपाध्यक्ष श्रेष्ठले सरकारले विभिन्न चरणमा ल्याएका नीतिहरुको कारण अटोमोवाइल व्यवसायीहरु धरासायी हुने अवस्थामा पुगेको बताए । उनले बैंक लगायतका वित्तिय निकायहरुले लगाएको उच्च व्याज दर, अटो लोन हायर पर्चेज कर्जामा जोखिम भार १५० प्रतिशतमा पु¥याइएको, बैंकहरुबाट नीजि सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रक्रियामा लोन टु भ्यालु रेसियोको सीमा ५० प्रतिशत पु¥याइएको कारण बजारमा सवारीसाधन विक्री हुन छाडेकाले भन्सारमा आईपुगेका सवारी साधनहरुको भन्सार जाँचपास गर्न नसकेको बताए ।

छलफलका क्रममा नाडाका पुर्व अध्यक्ष सुनिल खेतानले भन्सार जाँचपासका लागि विभागले तोकेको सवै कागजातहरु पेश गर्दा पनि भन्सार जाँचपास हुन नसकेको गुनासो गरेका थिए । सोही क्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले कोभिडको समयमा नियन्त्रणमा आएको र अनधिकृत आयात अहिले निकै बढन थालेकोले यसको नियन्त्रणका लागि विभागले आवश्यक पहल गर्नु पर्ने भन्दै कम्प्युटर विलिङ्गलाई अनिवार्य गर्न सुझाएका थिए ।

यसै क्रममा ट ह्वीलर समितिका सभापति अभिक ज्योतिले सोही उच्च व्याजदरका कारण मोटरसाइकलको आयातमा ५० प्रतिशतले कमी आएको जानकारी दिए ।

त्यसैगरी राजश्व समितिका सभापति आकाश गोल्छाले नेपालमा सवारी साधनको एसेम्बल प्लान्ट खोल्न सम्भव नभएका सवारीसाधन पैठारीकर्ताहरुले यहाँ संचालनमा रहेका एसेम्बल प्लान्टबाट आफ्नो ब्राण्डको एसेम्बल गर्न सकिने व्यवस्थाका लागि आवश्यक पहल गरी दिन आग्रह गरेका थिए ।

उक्त छलफलमा महानिर्देशक बुढाले सरकारलाई राजश्व संकलनको दवाव परिरहेको बताउँदै व्यवसायीको मागलाई यथासंम्भव सम्बोधन गर्ने बताए ।

सोहि क्रममा महानिर्देशक बुढाले नेपालका भन्सार नाकाहरुमा आईसकेका सवारी साधनहरुको यथासंम्भव भन्सार जाँच पासका लागि आग्रह गर्दै नेपालका भन्सार नाकाहरुमा कुन कुन ब्राण्डका के कति सवारी साधनहरु छन्, त्यसको तथ्याङ्क उपलब्ध गराई दिन आग्रह गरेका थिए ।


Back_to_top