काठमाडौं । विश्वभर सन् २०२२ मा प्रिमियम कार निर्माताहरुले २० लाख ८१ हजार ७५१ यूनिट विद्युतीय कार उत्पादन गरेका छन् ।
विशेषत यूरोप र अमेरिकी बजारलाई केन्द्रमा राखेर कार उत्पादन गर्ने ब्राण्डहरुले प्रिमियम इलेक्ट्रीक कार उत्पादनमा आफुलाई अगाडि ल्याएका हुन् । चिनियाँ बजारमा बजेट ईभीको उत्पादनलाई जोड दिइएको थियो ।
प्रिमियम कार उत्पादक मध्ये सबैभन्दा धेरै ईभी उत्पादन गर्ने ब्राण्ड टेस्ला हो । अमेरिकी ब्राण्ड टेस्लाले अमेरिका, चीन र जर्मनमा रहेको आफ्नो प्लान्टबाट १३ लाख १३ हजार ८५१ यूनिट कार उत्पादन गरेको थियो ।
अर्को प्रिमियम कार उत्पादक पोर्श्चेले सन् २०२२ मा ३४ हजार ८०० यूनिट ईभी उत्पादन गरेको थियो । कम्पनीले आफ्नो कुल उत्पादनमा ११.२ प्रतिशत इलेक्ट्रीक कार उत्पादन गरेको हो ।

जर्मन ब्राण्ड मर्सिडिज, बीएमडब्लू र अउडीले क्रमशः १ लाख १७ हजार ८००, १ लाख ७२ हजार र १ लाख १८ हजार २०० यूनिट प्रिमियम कार उत्पादन गरेका थिए ।
जर्मन कार निर्माता फक्सवागेनले सन् २०२२ मा प्रिमियम मोडलको उत्पादन ३ लाख २५ हजार १०० यूनिट गरेको थियो ।
विश्वका अधिकांश प्रिमियम कार निर्माताले नयाँ नयाँ मोडलको इनोभेसन र उत्पादन सुरु गरेको कारण सन् २०२३ मा अहिलेको तुलनामा करिब ३० प्रतिशतले ईभी उत्पादन बढ्ने अनुमान गरिएको छ ।
विशेषगरी अमेरिकी कम्पनी जनरल मोटर्स, फोर्ड, कोरियन ब्राण्ड जेनिसस, जापानी ब्राण्ड लेक्सस, इनफिनीटी जस्ता ब्राण्डले ईभी उत्पादनलाई तिब्रता दिएको कारण ठूलो संख्यामा ईभी उत्पादन हुने आँकलन गर्न सकिन्छ ।

