काठमाडौं । भारतीय स्टार्टअप कम्पनी ओलाको इलेक्ट्रीक स्कुटर निकै चल्ती छ । भारतमा अहिले विक्रीको आधारमा पहिलो नम्बरमा पुगेको ओलालाई विवादले भने छाड्ने अवस्था छैन ।
ओलाको बहुचर्चित इलेक्ट्रीक स्कुटर एस १ बाटोमा गुडिरहेको समयमा नै अगाडिको सस्पेन्सन भाँचिएको तस्बिरहरु अहिले मिडियामा भाइरल भइरहेका छन् । एकजना महिला चालकले चलाई रहेको समयमा नै सस्पेन्सन भाँचिएको थियो ।
घाइते हुुने महिला अहिले हस्पिटलको आइसियुमा भर्ना रहेको र उक्त महिलाको अबस्था निकै गम्भिर रहेको समाचार भारतीय मिडियाले प्रकाशन गरेका छन् । केवल ३५ किलोमिटर प्रतिघन्टाको स्पीडमा चलिरहेको अबस्थामा एक्कासी सस्पेनसन भाँच्चिदा स्कुटर घस्रेर निकै पर पुगेको थियो ।
दुर्घटनामा पर्ने महिलाको परिवारले सामाजिक सन्जालमा कम्पनीलाई मेन्सन गर्दै दुर्घटनाबारे पोस्ट गरेपछि यो खबर भारतीय संचार माध्यमहरु छाएको हो ।
ओला कम्पनीले भने घटना बारे दुःख ब्यक्त गर्दै घटनाको छानबिन सुरु गरेको जनाएको छ । कम्पनीले भनेको छ, ‘चालक सकुसल छन् । यो सुखद पक्ष हो, अहिलेसम्म सडकमा १ लाख ५० हजार यूनिट ओलाका स्कुटर गुडिरहेका छन् । यस घटनालाई अध्ययन गरेर हामी उपयुक्त निर्णय गर्नेछौं । हाम्रो पहिलो लक्ष्य नै सुरक्षीत सवारीसाधन र यात्रा हो ।’
यसअघि आगलागिको कारण ओलाको आलोचना भएको थियो ।

