सुजुकीले ६ नयाँ इलेक्ट्रीक मोडल ल्याउने

काठमाडौं । जापानी कार निर्माता सुजुकीले भारतमा सबैभन्दा ठूलो बजार हिस्सा ओगटेको छ । भारतमा मारुती सुजुकी नामबाट गाडी बन्छ भने जापानमा सुजुकी नामबाट उत्पादन हुन्छ ।

सुजुकीले सन् २०३० सम्ममा ६ नयाँ इलेक्ट्रीक मोडल ल्याउने घोषणा गरेको छ । कम्पनीले केही दिन अघि मात्रै सकिएको अटो एक्स्पो २०२३ मा आफ्नो पहिलो इलेक्ट्रीक कन्सेप्ट सार्वजनिक गरेको थियो ।

कम्पनीको पहिलो इलेक्ट्रीक कार सन् २०२५ मा मात्रै बजारमा आउने छ । अटो एक्स्पो २०२३ मा देखाइएको ‘ईभीएक्स’ कन्सेप्टमा आधारित भएर पहिलो मोडल आउने छ । त्यसपछि कम्पनीले क्रमशः अन्य मोडल बजारमा ल्याउने योजना सार्वजनिक गरेको हो ।

मारुती सुजुकीको योजना अनुसार सन् २०३० सम्ममा हाइब्रिड र पूर्ण इलेक्ट्रीक गाडीको हिस्सा ४० प्रतिशत पुर्याउने लक्ष्य निर्धारण गरेको छ । कम्पनीको यो लक्ष्य पुरा गर्न नयाँ ६ मोडल बजारमा आउने छन् ।

नयाँ मोडलको लागि सुजुकीले ४.५ ट्रिलियन जापानी यान थप लगानी गर्दै ईभी उत्पादनमा आफुलाई बलियो बनाउने योजना अगाडि सारेको छ । साथै, अर्को जापानी ब्राण्ड टोयोटासँगको साझेदारीलाई थप बलियो बनाउँदै नयाँ मोडलको साथ बजारमा आफ्नो बलियो पकड निर्माण गर्ने सुजुकीले बाहिर ल्याएको रिपोर्टमा उल्लेख छ ।

फ्लेक्स फ्यूल टेक्नोलोजी र सिएनजीमा पनि सुजुकीले निकै चासोका साथ लगानी गरिरहेको छ । यस्तोमा सन् २०३० सम्ममा कम्बस्चन इन्जिनको विक्री ६० प्रतिशतमा झार्ने ठोस योजनालाई पुरा गर्न कम्पनीले आफ्नो अहिले चल्तीमा रहेका मोडलहरुलाई पनि ईभीमा ल्याउने अनुमान गर्न सकिन्छ । जुन टाटा मोटर्सले गरेको प्रयोगले सफलता पाइसकेको छ ।

त्यसैले सुजुकीले पनि भारतमा उत्पादन हुने वागेन आर, ब्रेजा, ग्राण्ड भिटारा, स्वीफ्ट जस्ता मोडल निकट भविष्यमा नै ईभीमा ल्याउन सक्नेछ ।


Back_to_top