काठमाडौं । नेपाली कार बजारमा हरेक वर्ष एसयूभीको बजार हिस्सा बढिरहेको छ । विभिन्न ब्राण्डले एकपछि अर्को नयाँ एसयूभी ल्याउँदा एसयूभीको बजार हिस्सा बढ्दै गएको हो ।
अहिले नेपालमा सबैभन्दा धेरै एसयूभी मोडल विक्री गर्ने हुन्डाई हो । हुन्डाईले भेन्यू, क्रेटा, टुसान, शान्ता फे, प्यालिसेड जस्ता एसयूभी विक्री गर्दै आएको छ । कम्पनीसँग क्रसओभर एसयूभी सेग्मेन्टमा कोना इलेक्ट्रीक र आयोनीक ५ मोडल उपलब्ध रहेका छन् ।
यति धेरै मोडल एसयूभी सेग्मेन्टमा उपलब्ध गराएको हुन्डाईले ग्राण्ड आई १० नियोस र आई २० ह्याचव्याक सेग्मेन्टमा उपलब्ध गराउँदा एउटा मात्रै अउरा सेडान विक्री गर्दै आएको छ । यसले उत्पादकको रोजाई पनि एसयूभी भएको प्रस्टै देखिन्छ ।

हुन्डाईपछि धेरै एसयूभी विक्री गर्ने महिन्द्रा हो । महिन्द्राले विक्री गर्दै आएको स्कर्पियो, एक्सयूभी ७००, एक्सयूभी ५००, एक्सयूभी ३०० सबै एसयूभी मोडल हुन् । कम्पनीले निकट भविष्यमा नै स्कर्पियो एन, एक्सयूभी ४००, बोलेरो नियो जस्ता मोडल विक्री वितरण गर्ने योजना बनाएको छ ।
टाटा पनि एसयूभी सेग्मेन्टबाट कारमा आफ्नो परिचय बदल्दै आएको ब्राण्ड हो । टाटाले नेपालमा नेक्सनको पेट्रोल र इलेक्ट्री दुबै भर्सन उपलब्ध गराएको छ । कम्पनीले उपलब्ध गराएको अन्य एसयूभीमा सफारी र एचफाइभ हो । कम्पनीसँग ह्याचव्याकमा टियागो र अल्ट्रोज तथा सेडानमा टिगोर मात्रै उपलब्ध छन् ।
मारुती सुजुकीसँग अहिलेसम्म एउटा मात्रै एसयूभी उपलब्ध रहेको छ । अबको केहि दिनमा नै कम्पनीले ब्राण्ड न्यू एसयूभी ग्राण्ड भिटारा नेपालमा विक्री सुरु गर्दैछ । कम्पनीसँग अहिले धेरै विक्री हुने ब्रेजा एसयूभी मोडल हो ।

निसानले पनि म्याग्नाइट र किक्स एसयूभी विक्री गर्दै आएको छ । टोयोटा मूल्यको आधारमा महंगो ब्राण्ड भएपनि उसले नेपालमा ल्याण्डक्रुजर, प्राडो, फर्चुनर, रस, राइज जस्ता मोडल एसयूभी सेग्मेन्टमा विक्री गर्दै आएको छ ।
फक्सवागेनले टाइगुन र टिगुवान, स्कोडाले कुशक र कारोक, प्यूजोले २००८ र ३००८, रेनोले काइगर, मित्शुवीसीले आउटल्याण्डर र पजेरो स्पोर्टस् विक्री गर्दै आएका छन् ।
धेरै एसयूभी विक्री गर्नेमा किया पनि निकै माथि रहेको छ । कियाले सोनेट, सेल्टोस, सोरान्टो, स्पोर्टेज जस्ता एसयूभी मोडल विक्री गर्दै आएको छ । जबकी कियासँग सेडान र ह्याचव्याक मोडल नै उपलब्ध छैन ।
त्यसैगरी जीपको कम्पास र ग्राण्ड चेरोकी एसयूभी बजारमा किन्न पाइन्छ । जीपले चाँडै मेरिडियन मोडल नेपाल ल्याउने छ ।
एमजी पनि नेपालमा धेरै एसयूभी विक्री गर्ने ब्राण्ड हो । कम्पनीले जेडएस ईभी, एचएस र हेक्टर एसयूभी विक्री गर्दै आएको छ ।

प्रोटोनले एक्स ७० र एक्स ५० मोडल नेपालमा विक्री गर्दै आएको छ । सिट्रोनको सी ५ एयरक्रस, बीवाइडीको एटो थ्री पनि नेपालमा उपलब्ध एसयूभी हुन् । टेस्ला मोडल थ्री र मोडल वाई तथा मर्सिडिजका केही मोडल नेपालमा विक्री हुँदै आएका छन् ।
प्रिमियम ब्राण्ड बीएमडब्लूले विक्री गर्दै आएको एक्स सिरिजका एसयूभी नेपालमा उपलब्ध रहेका छन् । साथै, फोर्डको एभरेष्ट एसयूभी पनि नेपालमा उपलब्ध रहेको छ । माज्दासँग सीएस ५, ग्रोटवालसँग हाभल एच सिक्स र जोलाइन, चेरीसँग टिगो ४ प्रो, ७ प्रो, ८ प्रो जस्ता मोडल छन् ।
सबै कम्पनीसँग ह्याचव्याक र सेडान सेग्मेन्टमा निकै कम मोडल उपलब्ध रहेको कारण पनि ग्राहकले धेरै छनोट पाउने अवस्था छैन । त्यसैले गाडी किन्नेको पहिलो रोजाई नै एसयूभी बन्न थालेको हो ।


