पावरफुल मोटरमा एमजी-४ एक्स पावर, नेपाल भने सानो मोटरमा आउने

काठमाडौं । चिनियाँ उत्पादकको स्वामित्वमा रहेको ब्रिटिस अटोमोवाइल ब्राण्ड मोरिस ग्यारेजले सन् २०२२ अगस्टमा यूरोपबाट बिक्री सुरु गरेको ‘एमजी-४’ विद्युतीय क्रसओभर थप पावरफुल बनाएर ल्याउने भएको छ ।

एमजीले आफ्नो क्रसओभर मोडललाई ‘एमजी-४ एक्स पावर’ नाम दिएर ठूलो मोटरमा ल्याउन लागेको हो । एक्स पावर नयाँ भेरियन्टको रुपमा आउन लागेको हो । यो एमजीको सबैभन्दा पावरफुल ईभी हुनेछ ।

एमजीले बनाएको पहिलो डेडिकेटेड ईभी प्लेटफर्ममा आधारित एमजी-४मा ५०ः५० वेट डिस्ट्रीब्युसन रहेको छ । पछाडिको एक्सलमा फाइभ लिङक इन्डिपेन्डेट सस्पेन्सन रहेको एमजी-४मा बोस्चको ड्यूलपीनन् इलेक्ट्री पावर स्टेरिङ दिइएको छ ।

एमजीले यसमा १५० किलोवाट र १८० किलोवाट क्षमताको ड्यूल मोटरसहितको अलह्वील ड्राइभ अप्सन दिने भएको हो । चाँडै बजारमा आउने एमजी ४ एक्सपावरको कुल पावर ४२३ हर्सपावर हुन्छ । यसको टर्क ६०० न्यूटन मिटर रहनेछ ।

एमजी-४ एक्सपावर अब पोर्श्चे टाइकान क्रस, बीएमडब्लु आई-४ एक्स ड्राइभभन्दा पावरफुल हुनेछ । मोटर पावरफुल भएपछि ६४ किलोवाट आवरको ब्याट्री प्याक रहेको एमजी-४को डब्लुएलटीपी रेन्ज भने ३८३ किलोमिटर मात्रै हुनेछ ।

नयाँ एक्सपावरले ३.८ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको स्पीड भेट्टाउने छ । यो कारको टप स्पीड २०० किलोमिटर प्रतिघण्टा रहेको छ ।

आगामी नाडा अटो शो २०२३ बाट नेपालमा बिक्री सुरु हुने अपेक्षा गरिएको एमजी ४ क्रसओभरको नेपाल ल्याउने मोडलमा भने १०० किलोवाट क्षमताको मोटर र ५१ किलोवाट क्षमताको ब्याट्री प्याक रहने छ ।


Back_to_top