इलेक्ट्रीक कार, ट्याक्सी र भ्यान बेच्न सीजीले खोल्यो पोखरामा शोरुम

पोखरा । पोखराको अर्चलबोट चोकमा सीजी मोटर्सले नेटा शोरुम संचालनमा ल्याएको छ । नेपालका लागि चिनियाँ राजदुत चेन सङसहितको टोलीले नयाँ शोरुमको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै राजदुत चेन सङले नेपाल र चीन बीचको अटुट मैत्रीपूर्ण सम्बन्धमा जोड दिँदै सीजी मोटर्सलाई सफलताको शुभकामना दिएका थिए ।

राजदुत सङले डिजल र पेट्रोल गाडीलाई विस्थापित गर्दै सार्वजनिक यातायातमा ईभीको प्रयोग निकै फाइदाजनक रहेको बताउँदै भने, ‘नेपालमा ग्रीन इनर्जीको सम्भावना अध्ययन गर्न र आत्मनिर्भता तिर जान चीनले सहयोग गर्ने छ । साथै, नेपाल सरकारसँगको सहकार्यमा प्रमुख राजमार्ग तथा ठूला सहरहरुमा चर्जिङ स्टेशन निर्माणमा सहयोग गर्नेछौं ।’

सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले आफ्नो सेवा पोखरावासीले सहज रुपमा उपभोग गर्न सक्ने बताए । नेटा भीको अनुभव गरी खरिद गर्न सक्ने बताउँदै अग्रवालले भने, ‘बजारको माग अनुसार राम्रो र गुणस्तरीय गाडी ल्याएर बिक्री गर्ने छौं । साथै, विद्युतीय ट्याक्सी र माइक्रोबस पनि उपलब्ध हुनेछ ।’

उक्त कार्यक्रममा पोखराका लागि पहिलो ईभी ट्याक्सीको साथै, पहिलो विद्युतीय माइक्रोबस पनि ग्राहकलाई हस्तान्त्रण गरिएको थियो ।

नेटा भीले सिंगल चार्जमा ३८० किमिसम्म रेन्ज दिने सीजी मोटर्सले दावी गरेको छ । सीजी मोटर्सले नेटा भीको साथै, विद्युतीय माइक्रोबस केवाइसी र किङलङका मोडल बिक्री गर्दै आएको छ । यी सबै मोडल पोखरामा खुलेको नयाँ शोरुमबाट किन्न पाइने छ ।


Back_to_top