काठमाडौं । बीएमडब्लूले आफ्नो इलेक्ट्रीक एसयूभी ‘आईएक्स-३’ नेपाल ल्याउने भएको छ । कम्पनीले सन् २०२१ को अन्त्यमा अन्तर्राष्ट्रिय बजारमा ल्याएको आईएक्स-३ नेपाल ल्याउने भएको हो ।
बीएमडब्लूको सर्वाधिक बिक्री हुने एक्स-३ को इलेक्ट्रीक भर्सनको रुपमा यो मोडल बजारमा आएको हो । बीएमडब्लूले अहिलेसम्म एक्स-३ को पेट्रोल, डिजेल, प्लगइन हाइब्रिड र पूर्ण इलेक्ट्रीक भर्सन बजारमा उतारेको छ । कम्पनीले बीएमडब्लू आईएक्स-३ को एम स्पोर्टस् भेरियन्ट नेपाल ल्याउन लागेको हो ।
नेपालको लागि बीएमडब्लूको आधिकारीक बिक्रेता लक्ष्मी प्रिमियम प्रालिले यसको प्लगइन हाइब्रिड मोडल यसअघि बिक्री गर्दै आएको थियो । अब यसमा आईएक्स-३ पूर्ण इलेक्ट्रीक मोडल थप हुने भएको हो ।
बीएमडब्लूले आफ्नो चर्चित किडनी आकारको ग्रिललाई इलेक्ट्रीकमा पनि निरन्तरता दिइएको छ । यसको ड्यासबोर्डमा दुई समान साइज १२.३ इन्चको पूर्ण डिजिटल क्लष्टर र इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ । ठूलो पानारोमिक शनरुफ, स्पोर्टी सिट, लेदर र्याप गरिएको थ्री स्पोक स्टेरिङ ह्वील, गाडी भित्र दिइएको आकर्षक लाइटले निकै प्रिमियम फिल गराउने छ ।

बीएमडब्लूले आईएक्स ३ मा १९ इन्चको डबल स्पोक ह्वील दिइएको छ । सबै किसिमको वेदरमा उत्तिकै काम लाग्ने फ्लोरम्याट, फ्ल्याट टायर, टायर प्रेसर मोनिटर जस्ता फिचर यसमा पाउन सकिन्छ ।
बीएमडब्लूले यसको रियर ह्वील ड्राइभ सिस्टम दिएको छ । यसमा २१० किलोवाट आवरको ब्याट्री रहने छ । उक्त ब्याट्रीलाई ३५० किलोवाट क्षमताको डिसी फास्ट चार्जरसम्मले चार्ज गर्न सकिन्छ । यदि ३५० किलोवाट क्षमताको चार्जरले यसलाई १० मिनेट चार्ज गर्दा १०० किलोमिटर चलाउन सकिन्छ ।
आईएक्स ३ को लम्बाई ४७३४ एमएम, चौडाई १८९१ एमएम र उचाई १६६८ एमएम छ । २८६४ एमएम लामो ह्वीलवेस भएको यो गाडीमा १७९ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।
कम्पनीले यसमा ८० किलोवाट आवरको ब्याट्री उपलब्ध रहने छ । यसले सिंगल चार्जमा ४६० किलोमिटर रेन्ज दिने डब्लूएटीपीले प्रमाणित गरेको छ ।
लक्ष्मी प्रिमियमले अहिले बुकिङ लिइरहेको आईएक्स-३ को मूल्य घोषणा भने गरेको छैन । अबको केही दिन भित्रै नेपाल आइपुग्ने आईएक्सको अनुमानित मूल्य २ करोड ३० लाख हाराहारी पर्नेछ ।

