प्रतिस्पर्धी आउने भएपछि ‘विलिङ मिनी’को मूल्य ४ लाखसम्मले घट्यो

काठमाडौं । बज्र ग्रुप अन्तर्गतको नेपाल मोटर्स प्रालिले बिक्री गर्दै आएको विलिङ एयर मिनीको मूल्य घटेको छ । कम्पनीले विलिङ मिनीको मूल्य ५ लाख रुपैयाँसम्मले घटाएको हो ।

विलिङ एयर मिनी ईभी दुई ब्याट्री अप्सनमा नेपाली बजारमा बिक्री हुँदै आएको छ । सानो साइज, राम्रो रेन्ज र सुरक्षा फिचरमा पनि राम्रो भएको कारण विलिङ एयर मिनीले अन्तर्राष्ट्रिय बजारमा राम्रो ब्यापार गरिरहेको छ । यो मिनी कारको लम्बाई २९७४ एमएम, चौडाई १५०५ एमएम र उचाई १६३१ एमएम रहेको छ ।

विलिङको सर्ट रेन्ज भेरियन्टमा १७.३ किलोवाट आवरको ब्याट्री छ । यसमा मोटर पनि ३० किलोवाट क्षमताको मात्रै छ । यसले एक पटकको फुल चार्जमा २०० किमि रेन्ज दिने कम्पनीले दावी छ । कम्पनीले यसको मूल्य ४ लाख रुपैयाँले घटाएर २० लाख ९९ हजार बनाएको छ ।

 

‘बजारमा प्रतिस्पर्धा गर्नै पर्ने अवस्थामा हामीले इन्डोनेशियामा मूल्य घटाउन भन्यौं । उहाँहरुले ठिक छ, मूल्य समायोजन गर्छौ भनेको कारण हामीले बुकिङ खुल्ला गरेका हौं । अहिले बुकिङ गरेका ग्राहकलाई दुई महिना भित्रै गाडी उपलब्ध गराउने छौं’, नेपाल मोटर्सका जनरल म्यानेजर नबराज कोइरालाले मेरोअटोसँग भने ।

एमजीले कोमेट ईभी नेपाल ल्याउने हल्लासँगै विलिङले एयर मिनीको मूल्य घटाएको हो । एउटै प्लेटफर्म, मोटर साइज र डिजाइन रहेको कोमेट ईभी र विलिङ एयर मिनी बीच नेपालमा टक्कर हुने देखिन्छ ।

दुई ढोका र चार सिट अप्सनमा नेपाल आएको विलिङ एयर मिनी कार एआई फिचर समाबेस भएको कार हो । सुरक्षाको लागि यसमा एयरव्याग, इबीडी सहितको एबीएस, टायर प्रेसर मोनिटर, रिभर्स पार्किङ सेन्सर, रिभर्स क्यामेरा जस्ता फिचर उपलब्ध छन् । कम्पनीले यसको व्याट्रीमा ८ वर्षको वारेन्टी दिएको छ ।


Back_to_top