काठमाडौं । कोरियन कार निर्माता कम्पनी कियाले कारेन्समा समस्या देखिएपछि रिकल गरेको छ । कम्पनीले भारतमा उत्पादन भएको कारेन्सको इन्ट्रुमेन्ट क्लष्टरमा समस्या देखिए पश्चात् ‘रिकल’ गरेको हो ।
किया क्यारेन्स एमपीभीको क्लष्टर ‘ब्ल्याङ्क’ हुने समस्या देखिएपछि कम्पनीले भारतमा उत्पादन भएको ३० हजार २९७ यूनिट कार रिकल गरेको हो ।
किया इन्डियाले सेम्पेम्वर २०२२ देखि फेब्रुअरी २०२३को बीचमा उत्पादन भएका सबै क्यारेन्स चेकअप लागि फिर्ता बोलाएको जनाएको छ । अब कम्पनीले त्यसमा देखिएको समस्या पत्ता लगाएर मात्रै ग्राहकलाई डेलिभरी दिनेछ ।
कम्पनीले सबै ग्राहकलाई सिधै रिकलको बारेमा जानकारी दिएर परिक्षणका लागि आवह्वान गरेको छ । यसअघि कियाले अक्टोवर २०२२ मा ४४ हजारभन्दा धेरै एमपीभीको एयरब्याग कन्ट्रोल यूनिटमा समस्या देखिएपछि फिर्ता मागेको थियो ।
नेपालमा पनि किया कारेन्स बिक्री हुँदै आएको छ । कम्पनीले २०२३ मार्चदेखिको उत्पादन नेपाल ल्याएको कारण कुनै समस्या नदेखिएको कन्टिनेन्टल ट्रेडिङ स्रोतले मेरोअटोलाई बतायो ।
‘हामीले मार्चदेखिको उत्पादन नेपाल ल्याएर अप्रिलबाट बिक्री सुरु गरेका हौं । हाम्रोमा समस्या देखिएको लट आएको छैन । यदि आएको भए हामीलाई कम्पनील पहिल्यै खबर गर्थ्यो’, कन्टिनेन्टल स्रोतले भन्यो ।
किया कारेन्स ७ सिट क्षमताको एमपीभी हो । यसलाई नेपालमा दुई भेरियन्टमा उपलब्ध गराइएको छ । कारेन्स प्रिमियम भेरियन्टको मूल्य ४८ लाख ९० हजार रुपैयाँ र प्रेस्टिज भेरियन्टको मूल्य ५२ लाख ९० रुपैयाँ रहेको छ ।
इन्डियन कार अफ दी इयर २०२३ को अवार्ड जित्न सफल कारेन्समा सुरक्षाको लागि ६ ओटासम्म एयरब्याग, इलेक्ट्रोनिक्स स्टाबिलिटी कन्ट्रोल, भेहिकल स्टाबिलिटी म्यानेजमेन्ट, ब्रेक एसिस्ट जस्ता फिचर छन् ।


