काठमाडौं । आगामी भदौ अन्तिम साता आयोजना हुने नाडा अटो शो २०२३ को मुख्य आकर्षण बन्ने दाउमा चेरीको अमोडा ५ इलेक्ट्रीक एसयूभी रहेको छ । चेरीले संघाई अटो शो २०२३ मा पहिलो पटक देखाएको ‘ओमोडा–फाइभ’ नाडा अटो शोमा ल्याउने तयारी भइरहेको हो ।
संघाई अटो शोमा नै चेरीले ओमोडा फाइभ ईभीको फाइनल प्रोडक्सन देखाएको थियो । अगस्टमा यसको राइट ह्याण्ड ड्राइभ भर्सन तयार हुने बताइएको छ । राइट ह्याण्डमा आउने वित्तिकै यो एसयूभी नेपाल आउने छ ।
अहिले बजारमा उपलब्ध एसयूभीको सरह नै ओमोडामा पनि ६४ किलोवाट आवरको ब्याट्री दिइएको छ । उक्त ब्याट्रीले सिङ्गल चार्जमा ४५० किलोमिटर रेन्ज दिने दाबी कम्पनीले गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा १५० किलोवाट पीक पावरको मोटरमा उपलब्ध अमोडा ईभी नेपाल भने १०० किलोवाटको मोटरमा आउने अनुमान गर्न सकिन्छ । डिसी फास्ट चार्जर सपोर्ट गर्ने ओमोडा फाइभ ईभीलाई ४० मिनेटमा नै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । साथै, ७.२ किलोवाटको एसी चार्जरले पाँच घण्टामा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीको दावी छ ।
चेरीले यसअघि इन्टरनल कम्बस्चन इन्जिनमा पनि ओमोडा फाइभ विक्री गर्दै आएको भएपनि ईभी कम्बस्चनको तुलनामा भिन्न डिजाइनमा तयार भएको छ । ईभी प्रेरित ग्रिल, बोल्ड डिजाइन र स्टाइलिस पछाडिको भागले यसलाई निकै स्पोर्टी लुक्स प्रदान गरेको छ ।

त्यस्तै, यसको इन्टेरियर प्रिमियम फिचरले भरिपूर्ण छ । फिचर लोडेड ईभीको रुपमा तयार भएको अमोडामा आकर्षक स्टेरिङ ह्वील, मोडर्न ड्यासबोर्ड र लग्जरी सिटको पाउन सकिन्छ ।
आधिकारीक बिक्री सुरु हुन नसकेको खण्डमा पनि अमोडा ईभीको बुकिङ नाडा अटो शोमा पक्कै खुल्ने छ । अमोडा नेपाल आउने विषयलाई यसअघि नै चेरी नेपालका प्रबन्ध निर्देशक गौरब सारडाले संघाई अटो शोबाटै पुष्टि गरेका थिए ।
अहिले बजारमा रहेका बीवाइडी एटो थ्री, एमजी जेडएस, हुन्डाई कोना जस्ता इलेक्ट्रीक मोडलसँग यसको सिधा प्रतिस्पर्धा हुनेछ ।

