काठमाडौं । एनआएईसी एशिया बैंकले २०० भन्दा धेरै दुई पाङ्ग्रे साधन खरिद गर्न टेन्डर आह्वान गरेको छ । बैंकले मोटरसाइकल र स्कुटर गरी २०१ यूनिट खरिद गर्न टेन्डर आह्वान गरेको हो ।
बैंकले पहिलो पटक जुन १९ मा गरेको बोलपत्र आह्वानमा कुनै पनि आवेदन नपरेका कारण पुनः बोलपत्र आह्वान गरेको छ । बैंकले उपत्यका बाहिरका शाखा कार्यलयहरुका लागि मोटरसाइकल तथा स्कुटर खरिद गर्न लागेको हो ।
उपत्यका बाहिरका कार्यालयको प्रयोगका लागि भएका कारण पेट्रोल स्कुटर तथा मोटरसाइकल माग गरिएको बैंकले जनाएको छ । उपत्यकाको हकमा भने इलेक्ट्रीक खरिद गर्ने बैंकले जनाएको छ ।
बैंकले १२५ सीसी सेग्मेन्टमा सबैभन्दा धेरै १८१ यूनिट मोटरसाइकल माग गरेको छ । साथै, १२५ सीसीसम्मका १० यूनिट स्कुटर र १० यूनिट १५० देखि १६० सीसीसम्मका मोटरसाइकल माग गरेको हो ।
मोटरसाइकल बिक्री गर्न इच्छुक कम्पनीले थापाथलीमा रहेको एनआईसी एशिया बैंकको कार्यालयमा आवेदन दिन सक्नेछन् । आवेदन साउन तीन गतेसम्ममा पेश गरिसक्नु पर्ने बैंकले निकालेको सूचनामा उल्लेख छ ।
बैंकका अनुसार बोलपत्र आवेदनमा सहभागिले ५ हजार शुल्क बुझाउनु पर्ने हुन्छ । साथै, विक्रेता कम्पनी दर्ता भएको कम्तीमा तीन वर्ष भइ काम गर्दै आएको र ३ वा सोभन्दा धेरै कम्पनीसँग कारोबार गरेको हुनु पर्ने उल्लेख छ ।
त्यसैगरी, आर्थिक वर्ष २०७८/७९ मा कम्तीमा ५ करोडको वार्षिक कारोवार गरेको र सोही आवको कर चुक्ता भएको कम्पनीले आवेदन दिन सक्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।


