जति पुरानो उति धेरै चर्चा, ११ वर्षअघि नै ईभीमा थियो र्‍याभफोर

काठमाडौं । कुनै सामान सुरूमा खुब चर्चा कमाए पनि क्रमिक रूपमा त्यो बजारबाट हराउँदै जान्छ । टोयोटाले बनाएको ‘रिक्रियसनल एक्टिभ भेहिकल वीथ ४ ह्वील ड्राइभ’ अर्थात् र्‍याभफोर जति पुरानो भए पनि चर्चा बढाउन सफल मोडल हो ।

जापनिज अटोमोबाइल कम्पनी टोयोटाको कम्प्याक्ट क्रसओभर एसयूभीको पहिलो डेब्यू सन् १९९४ मा भएको थियो । त्यतिबेला टोयोटा यस्तो गाडी बनाउन चाहन्थ्यो, त्यसमा एसयूभीका सबै गुणहरू समाहित हुन् ।

यसमा ठूलो कार्गो रुम, हाइ–भिजिबिलिटी, फोरह्वील ड्राइभ अप्सन, फ्युल इकनोमीको साथमा गतिशीलता होस् र साइजमा कम्प्याक्ट कार जस्तो बनोस् भन्ने टोयोटाको चाहना साकार गर्न सफल मोडल र्‍याभफोरलाई मानिन्छ । अहिले पनि विश्व बजारमा वार्षिक १० लाख यूनिट बिक्री हुने मोडलमा यो पर्छ ।

सन् १९९४ देखि २०२३ सम्म आइपुग्दा र्‍याभफोरका पाँच जेनेरेशन परिवर्तन भए । करिब ५/६ वर्षको दौरानमा एउटा जेनेरेशन परिवर्तन हुँदै आएको छ । अहिले बजारमा उपलब्ध र्‍याभफोर पाँचौं जेनेरेशनको फेसलिफ्ट मोडल हो ।

टोयोटाले अहिले र्‍याभफोरलाई प्लगइन हाइब्रिड, हाइब्रिड र इन्टरनल कम्बस्चन इन्जिनमा बिक्री गर्दै आएको छ । अहिले टोयोटाले बिक्री गरिरहेको बीजेडफोरएक्स इलेक्ट्रीक एसयूभी पनि र्‍याभफोर नै हो भन्दा फरक पर्दैन ।

हुनत टोयोटाले सन् २०१२ मै र्‍याभफोरको इलेक्ट्रीक मोडल बिक्री गरेको थियो । कम्पनीले ११५ किलोवाटको मोटरको साथमा ४१.८ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिइएको थियो । त्यतिबेला अमेरिकाको क्यालिफोर्निया राज्यमा मात्रै बिक्री गरिएको र्‍याभफोर ईभी जम्मा २६०० यूनिट मात्र उत्पादन भएको थियो ।

आरामदायी, पृथक अनुभव प्रदान गर्ने क्षमता, टिकाउ र उत्कृष्ट पफर्मेन्सको कारण यसले अटोमोबाइल इतिहासमा आफूलाई सर्वप्रिय बनाउन सफल भएको छ । यसको पर्फमेन्सको लागि जेडी पावरले रिलायबिलिटीमा १०० मा ८१ अंक प्रदान गरेको छ ।

टोयोटा र्‍याभफोर जति नयाँ जेनेरेशनमा आउँछ, त्यति नै नयाँ फिचर थप हुँदै आएको छ । टोयोटाले यसमा एप्पल कार प्ले, एलेक्साका साथै एक्ट्रा कनेक्टिभिटी सिस्टम भएको ८ इन्चको फ्लोटिङ इन्फोटेन्मेट सिस्टम दिएको छ । सन् २०१३ को यूरो एनक्याप क्र्यास टेष्टमै ५ स्टार रेटिङ पाएको र्‍याभफोरमा २०१९ पछि भने स्ट्याडर्ड फिचरको रूपमा टोयोटा सेफ्टी सेन्स २.० दिइएको छ ।

टोयोटा सेफ्टी सेन्स २.० भित्र अटोमेटेड इमर्जेन्सी ब्रेकिङ सिस्टम, अटोमेटिक हाइविम, लेनकिप असिस्ट, फरवार्ड कोलिजन वार्निङ, डाइनामिक रडार क्रूज कन्ट्रोल, रोड साइज असिस्टेन्ट, लेन डिपाचर वार्निङ विथ स्टेरिङ असिस्ट जस्ता फिचर छन् ।

नेपालमा पनि निरन्तर सफल

टोयोटा भन्ने बित्तिकै धेरै नेपालीलाई महंगो ब्राण्ड भन्ने पर्छ । अन्य ब्राण्डको तुलनामा महंगा गाडी ल्याउने भए पनि टोयोटाको क्रेज नेपालमा निकै राम्रो छ । त्यो क्रेजको विस्तारमा र्‍याभफोरको भूमिका पनि निकै महत्वपूर्ण मानिन्नछ ।

५ सिट क्षमताको क्याबिन रहेको र्‍याभफोरको सन् २०१९ हाइब्रिड मोडल आएको थियो । नेपालमा पनि यसलाई नाडा अटो शो २०१९ मा सार्वजनिक गरिएको थियो । र्‍याभफोर हाइब्रिड मोडलमा १.६ किलोवाट आवरको नीकेल मेटल हाइड्राइड ब्याट्री दिइएको छ । यसको सहायताले मात्र ६ लिटर पेट्रोलले १०० किलोमिटर गाडी गुडाउन सकिन्छ ।

फ्रन्टमा पेट्रोल इन्जिन र रियरमा इलेक्ट्रीक मोटर रहेको हाइब्रिड र्‍याभफोर फोर ह्वील ड्राइभ अप्सन सहित उपलब्ध छ । यसमा २४८७ सीसी क्षमताको फोर सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १७८ ब्रेकहर्स पावर र २२१ एनएम टर्क प्रदान गर्छ ।

यसको इलेक्ट्रीक मोटरले भने ८८ किलोवाटको पावर दिन्छ । यसको कम्बाइन पावर भने २१९ हर्सपावर हो । टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले यसको मूल्य १ करोड ८७ लाख रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।

साथै, यसलाई कम्पनीले २.५ लिटर क्षमताको रेगुलर पेट्रोल इन्जिनमा पनि उपलब्ध गराइएको छ । उक्त इन्जिनले अधिकतम २०६ हर्सपावर र टर्क २४३ न्यूटन मिटर जेनेरेट गर्छ । यसको मूल्य १ करोड ६३ लाख रुपैयाँ रहेको छ ।


Back_to_top