काठमाडौं । टोयोटा ल्याण्ड क्रुजर ७० नेपालमा पाइने आइकोनिक अफरोड मेसिन हो भन्दा फरक पदैन । टोयोटाको आधिकारीक बिक्रेता यूनाईटेड ट्रेडर्स सिन्डिकेट प्रालिले यसलाई नेपालमा बिक्री गर्दै आएको छ ।
निकै चर्चित भी–८ इन्जिन भएको ल्याण्ड क्रुजर ७० पुरानो क्लासिक डिजाइनमा भएकै कारण धेरै ब्यक्तिको रोजाईमा नपरेपनि कुटनीतिक नियोगहरुमा भने यसको बिक्री राम्रै संख्यामा भइरहेको छ ।
यसलाई केही समय अगाडिसम्म टोयोटाले २ करोड ५५ लाखमा बिक्री गर्दै आएको थियो । अहिले गाडी सोल्ड आउट भएको कारण नयाँ किन्न चाहने मानिसले अर्डर गर्नु पर्ने हुन्छ । अहिले अर्डर गर्दा २ करोड ६५ लाख हाराहारी पर्ने कम्पनी स्रोतले जानकारी दियो ।
‘ठूला गाडीको मूल्य केही थोरै प्रतिशत चल्दा पनि धेरै थपघट भएको देखिन्छ । त्यसैले अहिले मगाउँदा केही बढी पर्न गएको देखिन्छ’, यूटिएस स्रोतले भन्यो ।
यसको अर्को महत्वपूर्ण विशेषता भनेको भी ८ इन्जिन हो । भी ८ इन्जिन भएको कारण यसले माइलेज दिदैन भन्दा पनि हुन्छ । ४४६१ सीसी क्षमताको, ८ सिलिण्डर, भी टाइप, ३२ भल्भ डिओएचसी डिजेल इन्जिन यसमा रहेको छ । उक्त इन्जिनले केवल २०५ हर्स पावर र ४३० एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुअल गियरबक्स दिइएको छ ।
टोयोटा ल्याण्ड क्रुजर ७० मा क्वाइल/लिफ स्टायडर्डका् सस्पेन्स पाउन सकिन्छ भने ब्रेकिङको लागि अगाडिको चक्कामा भेन्टिलेटेड डिस्क ब्रेक र पछाडि लिडिङ–ट्राइलिङ ड्रम ब्रेक दिइएको छ । फोर ह्वील ड्राइभ सिस्टमको साथ आउने यो एसयूभीमा पावर स्टेरिङ पाउन सकिन्छ। 
१६ इन्चको स्टील ह्वीलको साथमा आउने ल्याण्डक्रुजर ७० मा १३० लिटरको ठूलो इन्धन ट्याङक पाउन सकिन्छ । यसको लम्बाई ४८७० एमएम, चौडाई १७९० एमएम र उचाई १९४० एमएम रहेको छ । यसको हाइटकै कारण सडकमा पनि उत्कृष्ट प्रेजेन्स देखिन्छ । २७३० एमएमको ह्वीलवेस र २३० एमएमको उच्च ग्राउन्ड क्यिरेन्सले जस्तोसुकै बाटोमा पनि यसको पफर्मेन्स उत्कृष्ट रहन्छ ।
मूल्यको हिसावले २ करोड ६०/६५ लाख भएपनि यसमा आधुनिक फिचर भने पाइन्न । ग्रोमले सजिएको ग्रिल, ग्रिन लेमिनेटेड विन्डसिल्ड ग्लास, आल्मुनियमको साइड स्टेप यसमा पाउन सकिन्छ ।
म्यानुअल डोरलक, साँचो राखेर स्टार्ट गर्नु पर्ने, म्यानुअल इन्ट्रुमेन्ट क्लष्टर, एफएम रेडियो, ४ वटा स्पीकर, एसी, हिटर, यूएसबी पोर्ट, हाइट अनुसार मिलाउन मिल्ने स्टेरिङ ह्वील, चालकले मात्रै कन्ट्रोल गर्न मिल्ने डोर र विन्डो लक, फेब्रीक सिट ल्याण्ड क्रुजर ७० मा उपलब्ध छ ।
सुरक्षाको लागि दुई एयरब्याग, अगाडि र पछाडि बस्ने सबैलाई ४ जनालाई थ्री प्वइन्ट सिटबेल्ट छ भने पछाडि बीचमा बस्नेको लागि दुई प्वइन्ट सिटबेल्ट दिइएको छ । यसमा यी बाहेक अन्य सुरक्षा फिचर छैन ।

