काठमाडौं । टोयोटाको चर्चित मोडल प्राडोको नयाँ मोडल आगामी अगस्ट २ मा सार्वजनिक हुने भएको छ । कम्पनीले १४ वर्षपछि अपग्रेड गरेको ल्याण्ड क्रुजर प्राडोको टिजर र फोटोहरु बाहिर आएका छन् ।
कम्पनीले २०२४ बाट विश्व बजारमा बिक्री थाल्ने नयाँ प्राडो दुई थरी फ्रन्ट फेसिया डिजाइनमा आउन लागेको हो । रेगुलर डिजाइनको प्राडो जापान र अष्ट्रेलियाको बजारमा आउने छ । साथै, रेट्रो डिजाइनबाट प्रेरित प्राडो भने अमेरिका र यूरोपियन बजारमा बिक्री गर्ने टोयोटाको तैयारी छ ।
अफरोड र अनरोड दुबै किसिमका बाटोहरुमा उपयुक्त हुने एसयूभीको नयाँ भर्सन टोयोटाले विकास गरेको ‘टीएनजीए एफ ल्याडर फ्रेम च्यासीस प्ल्याटफर्म’मा बन्ने छ । यहि प्लेटफर्ममा ल्याण्ड क्रुजर ३०० सिरिज र टोयोटा टुन्ड्रा जस्ता रगेड एसयूभी बनेका छन् ।
टोयोटाले नयाँ प्राडो पेट्रोल, डिजेल, हाइब्रिड र इलेक्ट्रीक अप्सनमा ल्याउने छ । यसको सम्पूर्ण विवरण भने बाहिर आइसकेको छैन ।
प्राडोको दुबै मोडलमा होरिजेन्टल हेडलाइट सेटअप ग्राहकले पाउने छन् । यो हेडल्याम्प सेटअपमा ३ वटा ‘लीड बीम’ छन् । एसयूभीको पछाडिमा भने टोयोटाको कम्प्याक्ट क्रुजर इलेक्ट्रीक कन्सेप्ट २०२१ मा आधारित ‘स्ट्याण्ड अलोन लाइट क्लस्टर’ रहने छ ।
जापनीज टिजरमा यसको केहि इन्टेरियर पनि देखाइएको छ । यसमा रियर डिफरेन्सीयल लकिङका लागि बटन र सुइचहरु दिइएको छ । साथै इलेक्ट्रीक पार्किङ ब्रेक र एचफोरएफ, एचफोरएल तथा एलफोरएल गरी तीन अफरोड मोड देखिएको छ ।
ल्याण्ड क्रुजर प्राडोमा एलसी ३०० मा जस्तै भी ६ डिजेल इन्जिन, टर्बोचार्ज्ड भी ६ इनलाइन फोर सिलिण्डर पेट्रोल र प्रिमियम सेग्मेन्टमा हाइब्रिड पेट्रोल इन्जिन रहने छ । यसको ईभी भर्सनको लागि भने अझै केही वर्ष कुर्नु पर्ने हुन्छ ।

