किन सस्तो भएका छैनन् विद्युतीय कार, यी हुन् ५ कारण

काठमाडौं । सामान्यतया नेपालमा बिक्री हुने इन्टरनल कम्बस्चन इन्जिन भएका कारको उत्पादन लागत ५ हजारदेखि ५० हजार डलरसम्म हुन् । तर, त्यही गाडीहरु विद्युतीय भर्सनमा बनाउँदा १२ हजारदेखि १ लाख २० हजार डलरसम्म पर्छन् ।

टेक्नोलोजीका हिसावले विद्युतीय गाडीलाई महंगो मानिन्छ । विशेषगरी अहिले पनि अध्ययन र अनुषन्धानको फेजमा रहेको विद्युतीय कार महंगो हुनु पर्ने कारणबारे धेरैको जिज्ञासा पाइन्छ ।

मूल्यका हिसावले महंगो तर रिमुभेवल पार्टस्को हिसावले एकदमै थोरै रहने विद्युतीय साधन अहिले विश्वभर अनुदान दिएर बिक्री हुँदै आएको छ ।

उत्पादक देशमा नगद अनुदान दिइएको छ भने आयात गरेर बिक्री गनेर्् हाम्रो जस्तो देशमा भारी कर छुट दिइएको छ । यदि नेपाल सरकारले कर छुट नदिने हो भने ईभी यहाँ बिक्री गर्नै सकिदैन । त्यसैले ईभी किन महंगो हुन्छ भन्ने विषयमा हामीले केही जानकारी दिने प्रयास गरेका छौं ।

१. ब्याट्री

विद्युतीय कारको मुख्य स्रोत भनेकै ब्याट्री हो । अहिले विद्युतीय कारमा प्रयोग भइरहेको ब्याट्री लिथियम आयोन हो । लिथियममा आधारित ब्याट्रीको खोज निकै चुनौतिपूर्ण र महंगो मानिदै आएको छ । यद्यपि, कुनै समय प्रति किलोवाट ब्याट्रीको मूल्य १ हजार २ सय डलरसम्म रहेकोमा अहिले त्यो घटेर १८० अमेरिकी डलर वरिपरी रहेको छ ।

लिथियम आयोन ब्याट्री महंगो भएको भन्दै विश्वभर नयाँ ब्याट्रीको खोज र अनुषन्धान चलिरहेको छ । सोलिड स्टेट ब्याट्री लिथियमको विकल्पमा आउन लागेको नयाँ ब्याट्री हो । विश्वले धेरै आश गरेको सोलिड स्टेट ब्याट्रीको विकास पुराभएसँगै ईभीको भविष्यको विषयमा ठूलो फैसला हुने चर्चा भइरहेको छ ।

लिथियम आयोन ब्याट्रीमा चीनको लगभग एकाधिकार रहेको भन्दै विश्वले यसको विकल्पमा ठूलो धनरासी खर्च गरिरहेका छन् । त्यसलाई विश्वको ‘कर्पोरेट कन्ट्री वार’को संज्ञा दिनेहरु पनि छन् । जे होस् ईभीलाई महंगो बनाउने ब्याट्री मुख्य कारण हो ।

२. टेक्नोलोजी

ईभीसँगै गाडीमा भएका अन्य टेक्नोलाीमा ब्यापक खोज हुँदै आएका छन् । अटोनोमस ड्राइभिङ सिस्टम, गियर, सुरक्षा, ड्राइभिङ प्लेजर र हाइटेक फिचरको खोजमा सबै उत्पादकले आफ्नो रिसर्च एण्ड डेभलपमेन्टमा ठूलो रकम खर्च गर्ने गरेका छन् ।

३. उत्पादन क्षमता

विद्युतीय साधनको मूल्य धेरै हुनुमा उत्पादन क्षमतालाई पनि मुख्य कारण मान्न सकिन्छ । अहिले सबैभन्दा धेरै विद्युतीय कार उत्पादन गर्ने टेस्ला हो । उसको उत्पादन क्षमता पनि वार्षिक २० लाख यूनिट पुगेको छैन ।

जति धेरै उत्पादन क्षमता, उत्ति नै धेरै लागत कम गर्न सकिने भएको कारण उत्पादन क्षमता वृद्धि नभएसम्म ईभीको मूल्य कम हुन सक्दैन ।

४. अनुषन्धानमा ठूलो लगानी

नयाँ टेक्नोलोजीमा ईभी उत्पादन हुने भएको कारण अनुषन्धानमा ठूलो रकम खर्च भइरहेका छन् । ब्याट्रीको इफिसियन्सी, मोटर र पावर मेनेजमेन्ट सिस्टम जस्ता कुरालाई बलियो बनाउन उत्पादकले ठूलो रकम खर्च गरिरहेका छन् ।

साथै, विद्युतीय कारको मूख्य पूर्वाधार मानिने चार्जिङ नेटवर्कदेखि पुराना ब्याट्रीको ब्यवस्थापनको क्षेत्रमा अनुषन्धानहरु भइरहेका छन् । यी सबै खर्च गाडीमा नै जोडिने हुँदा ईभीहरुको मूल्य धेरै भएको हो ।

५. प्रतिस्पर्धी कम

परम्परागत पेट्रोलियम पदार्थबाट चल्ने कारको तुलनामा ईभीमा प्रतिस्पर्धी नै छैन भन्दा हुन्छ । टेस्ला र बीवाइडी बाहेक अन्य कुनै पनि ब्राण्डले ५ लाख ईभी उत्पादन कटाउन सकेका छैनन् । जबसम्म ईभी उत्पादक बीच प्रतिस्पर्धा हुन्न, तबसम्म मूल्य घट्ने सम्भावन हुन्न ।

 


Back_to_top