काठमाडौं । हामीले नेपाली नेताहरूले पर्यटकीय गन्तव्यहरूको प्रबद्र्धन गर्न यात्रा गरे भन्ने विरलै सुनेका छौं । आफ्नो राजनीतिक दलको कार्यक्रममा हावादारी भाषण गर्न बाहेक अरु समय पर्यटकीय गन्तव्यहरूमा जाँदैनन् भन्दा फरक पर्दैन ।
सरकारले मोटर स्पोर्टस तथा एड्भेन्चर टुरिजमको प्रचारप्रसार र प्रबद्र्धन गरेको त आजसम्म कतै सुनिएकै छैन । अझ मन्त्री, प्रधानमन्त्री लगायत उच्च पदस्थ अधिकारीहरू मोटरसाइकल चढेर यात्रा गर्छन् भन्नु त एकादेशको कथा जस्तै हो ।
तर, भारतका एक चर्चित नेता मोटरसाइकलमै विश्वकै आकर्षक पर्यटकीय गन्तव्य लद्दाख पुगेका छन् । भारतीय कांग्रेस नेता राहुल गान्धी मोटरसाइकल यात्रा गर्दै लद्दाख पुगेका हुन् ।
उनले आफ्नो इन्स्टाग्राममा लद्दाख जाँदै गरेको तस्वीरहरू पोष्ट गरेर मोटरसाइकलमा नै लद्दाख यात्राको बारेमा जानकारी दिएका हुन् ।
उनले लद्दाख यात्रामा भारतमै उत्पादन भएको केटीएम ३९० एड्भेन्चर मोटरसाइकल प्रयोग गरेको हुन् ।
उनले यो यात्राको क्रममा पूरा राइडिङ गियर लगाएका थिए । उनले बडी आर्मर, गल्भ्स, बुट, हेलमेट जस्ता सबै सुरक्षा गियरको प्रयोग गरेको देखिन्छ ।
राहुल गान्धी मोटरसाइकलमा देखिएको यो पहिलो पटक भने होइन । गत वर्ष उनले रोयल इनफिल्ड ५०० चलाएको तस्वीर बाहिर आएको थियो भने उनले केटीएम ड्यूक किनेको समेत बताएका छन् ।
उनले यो मोटरसाइकलमा गरेको लद्दाख यात्रालाई भारत जोडो यात्राको एक हिस्सा रहेको समेत बताएका छन् । केही समय अगाडि उनले पूरै भारतको पैदल यात्रा गरेको थिए । यो यात्राको क्रममा उनले ४ हजार किलोमिटर पैदल यात्रा गरेको थिए ।


