काठमाडौं । चोभार सुख्खा बन्दरगाहमा धमाधम सवारीसाधन ल्याउन थालिएको छ । भन्सार विभागले चोभार सुख्खा बन्दरगाहबाटै नयाँ सवारी साधन जाँचपास गर्न सकिने व्यवस्था गरेसँगै व्यवसायीहरूले धमाधम गाडी ल्याउन थालेका हुन् ।
चोभार भन्सारबाट जाँचपास गर्न सकिने व्यवस्था नहुँदा संचालनमा भएको डेढ वर्षसम्म कुनै गाडी आउन सकेका थिएनन् । तर भन्सार विभागले गत वैशाखमा सीमा क्षेत्रका भन्सारबाट मात्रै हुँदै आएको जाँचपास चोभारबाट पनि गर्न सकिने व्यवस्था गरेपछि अहिले व्यवसायीहरूले गाडी ल्याउन थालेका हुन् ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार हालसम्म चोभार बन्दरगाहमा ४९ वटा सवारी साधन आइसकेका छन् । हालसम्म सांग्रिला मोटर्सले ४४ वटा सिट्रोन कारहरु र जीओ अटोमोबाइल्सका ५ वटा गाडी चोभार भन्सार कार्यालयमा आएका छन् ।
ती गाडीहरु वीरगञ्ज एकीकृत जाँच चौकीबाट चोभार सुक्खा बन्दरगाहमा ल्याइएको हो । यस्तै, अरु नयाँ गाडी आउने क्रममा रहेको समितिले जनाएको छ ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले हाल सवारीसाधन आउन सहजीकरण गरिएको बताए । उनले चोभार भन्सारमा जाँचपासका सबै प्रकृया व्यवस्थित भएपछि सवारी साधन आउन थालेको बताए ।
आगामी दिनमा अझै धेरै सवारी साधन चोभार आउने क्रममा रहेको नाडा अटोमोबाइल्सले जानकारी दिएको उनले बताए । साथै, अन्य व्यवसायीसँग पनि चोभारमा सामान ल्याउने विषयमा छलफल भइरहेको गजुरेलले बताए ।
चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासको लागि आउने मालवाहक सावरी साधन एवं नयाँ सवारी साधनहरुको लागि प्रवेश शुल्क निःशुल्क गरिएको छ । साथै, पार्किङ एवं गोदाम शुल्क समेत न्यून गरी स्तरीय सेवा प्रदान गरिरहेको समितिले जनाएको छ ।


