काठमाडौ । रोयल इन्फिल्डले भारतमा आफ्नो इन्ट्री लेभल मोडल बुलेटमा थप फिचर दिएर बजारमा ल्याएको छ । केही वर्षअघिसम्म नेपालमा पनि बिक्री हुँदै आएको बुलेट पछिल्ला वर्षहरुमा भने उपलब्ध छैन ।
नयाँ बुलेटमा इन्जिनमा भने खासै परिवर्तन छैन । यसमा ३४९ सीसी क्षमताको सिंगल सिलिण्डर, एयर र आयल कूल्ड इन्जिन दिएको छ । उक्त इन्जिनले कधिकतम ६१०० आरपीएममा २०.२ ब्रेक हर्स पावर र ४ हजार आरपीएममा २७ एनएम टर्क जेनेरेट गर्छ । नयाँ बुलेटमा पाँच स्पीडको गियर बक्स दिइएको छ ।
कम्पनीले विभिन्न पाँच कलर अप्सनमा ल्याएको नयाँ बुलेट ३५० मा सिंगल र ड्यूल च्यानल एबीएस, डिस्क ब्रेक र ड्रम ब्रेक छनोट गर्न पाइने छ ।
नयाँ बुलेट ३५० ‘जे सीरीज प्लेटफर्म’मा बनेको चौथो मोडल हो । यसमा पहिलेको भन्दा फरक हेडलाइट, ८०५ एमएम लामो सीट, सेमी–डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, युएसबी चार्जिङ पोर्ट, नयाँ ह्यान्डलबार पाउन सकिन्छ ।
बडी कलरमा नै सजिएको फ्यूल ट्याङक र त्यसमा दिइएको इन्फिल्डको गोल्ड ब्याजले स्टाइलमा पनि परिवर्तन देख्न सकिन्छ । १३ लिटरको टियर ड्रप फ्युल ट्याङ्क रहेको नयाँ बुलेटमा विभिन्न एक्सट्रा एशोसरिज पनि आउने छ ।
भारतीय बजारमा नयाँ बुलेट ३५० को मूल्य १ लाख ७३ हजार ५६२ रुपैयाँदेखि २ लाख १५ हजार ८०१ भारतीय रुपैयाँसम्म रहेको छ ।

