काठमाडौं । कम्यूटर सेग्मेन्टको मोटरसाइकल चढेर अपग्रेड गर्नेहरुले २०० सीसीदेखि ३५० सीसीसम्मका मोटरसाइकलमा अपग्रेड हुने गर्छन् । २०० सीसी माथिको सेग्मेन्टमा मोटरसाइकलको डिजाइन अनुसार टुरिङ, एड्भेन्चर, क्लासिक जे भएपनि दैनिक प्रयोगको लागि पनि उपयुक्त नै हुन्छ ।
अहिले २०० देखि ३५० सीसी सेग्मेन्टमा नेपालमा धेरै मोटरसाइकल उपलब्ध छन् । यस्ता मोटरसाइकल किन्न ५ लाख रुपैयाँ हाराहारी लगानी गर्ने हो भने राम्रा मोटरसाइकल किन्न सकिन्छ ।
यस्तोमा हामीले ५ लाख हाराहारी रकम खर्च गरेर मोटरसाइकल किन्ने ग्राहकलाई आफ्नो रुची र आवश्यकता अनुसार खरिद गर्न सक्ने तीन फरक ब्राण्डका मोटरसाइकल सेग्मेन्टमा तीन मोडलको बारेमा चर्चा गर्ने छौं ।
एक्सपल्स २०० फोर भी
हिरो एक्सपल्स २०० फोरभी अफरोड एड्भेन्चर गर्न र दैनिक प्रयोग गर्न पनि सकिने मोटरसाइकल हो । यो मोटरसाइकल डबल स्पोर्टस सेग्मेन्टमा पर्छ । ५ लाखभन्दा कम मूल्य आउने यो मोटरसाइकल नेपाली बजारमा राम्रो बिक्री भइरहेको मोडल हो ।
नेपालमा एनजीमले बिक्री गर्ने मोटरसाइकल एक्सपल्स २०० फोर भी भसर्नको मूल्य ४ लाख ५२ हजार रुपैयाँ रहेको छ ।

एक्सपल्स २०० फोर भीमा २०० सीसी लिक्विड कुल्ड इन्जिन छ । उक्त इन्जिनले १९.१ पीएस पावर र १७.३५ एनएम टर्क प्रदान गर्छ । हिरोले यसमा ७ फिन आयल कुलरको प्रयोग गरेको छ
एक्सपल्स २०० फोर भी फ्रन्टमा २१ र रियरमा १८ ह्वील दिइएको छ । यसको अगाडि टेलिस्कोपीक र पछाडि मोनोशक सस्पेन्सन उपलब्ध रहेको छ । साथै, मोटरसाइकलमा अगाडि २७६ एमएम र पछाडि २२० एमएम डिस्क ब्रेक पाउन सकिन्छ ।
व्लुटुथ कनेक्टीभीटी र टर्न वाई टर्न नेभिगेशन जस्ता फिचर यसमा पाउन सकिन्छ ।
क्लासीक ३५०
अल्फा अटो मोटिभले ५ लाखभन्दा कम मूल्यमा नै क्लासीक ३५० सार्वजनिक गरेर राम्रो सफलता हात पारिरहेको छ । क्लासीक ३५० लामो यात्रा गर्न तथा दैनिक प्रयोग गर्न उत्तिकै सजिलो मोटरसाइकल हो ।
त्यति मात्र होइन नेपालमा क्लासीक ३५० मा अफरोड जाने उत्तिकै भेटिन्छन् । अपर मुस्ताङ जाने धेरैजसो राइडरहरु क्लासीक ३५० मा नै भेटिन्छन् ।

क्लासिक ३५० मा ३४९ सीसी क्षमताको इन्जिन रहेको छ । यो इन्जिनले २० पीएस पावर तथा २७ एनएम टर्क जेनेरेट गर्छ । कम्पनीले यो मोटरसाइकलको मूल्य ४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर बिक्री सुरु गरेको हो ।
यसको क्रोम र डार्क एडिशनको मूल्य भने क्रमश ५ लाख ३९ हजार र ५ लाख २५ हजार रुपैयाँ रहेको छ ।
पल्सर एनएस २००
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलाश चन्द एण्ड कम्पनीले ५ लाखभन्दा कम मूल्यमा नेकेड स्पोर्टस् मोटरसाइकल एनएस २०० को टप भेरियन्ट बिक्री गर्दै आएको छ ।
कम्पनीले केही समय अगाडि मात्रै एनएस २०० मा यूएसडी फर्क अपडेट गरेर सार्वजनिक गरेको हो । यसको मूल्य ४ लाख २४ हजार ९०० रुपैयाँ तोकेर बिक्री हुँदै आएको छ ।

एनएस २०० मा १९९.५ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । यसले अधिकतम २४.५ पीएस पावर र १८.७४ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीडको गियर बक्स जडान गरिएको छ ।


