लग्जरी ब्राण्डको सबैभन्दा कम मूल्यको इलेक्ट्रीक एसयूभी भारतमा

काठमाडौं । जर्मनी लग्जरी ब्राण्ड बीएमडब्लुको इन्ट्री मोडल ‘एक्स–१’को इलेक्ट्रीक भर्सन भारतको लागि तयार भएको छ । कम्पनीले यसलाई भोलि बिहिबार भारतमा बिक्री सुरु गर्न लागेको हो ।

बीएमडब्लुले यसअघि नै भारतीय बजारमा आई४सेडान, आईएक्स एसयूभी र आईसेभेन लग्जरी सेडान बिक्री गर्दै आएको छ । नेपालमा भने बीएमडब्लू आईएक्स–३ मात्रै इलेक्ट्रीकमा उपलब्ध छ ।

आईएक्सवान बीएमडब्लुको सन् २०२३ मा सबैभन्दा धेरै संख्यामा बिक्री भएको एसयूभी हो । यो एसयूभीको ड्यासबोर्डमा १०.७ इन्चको कर्भ डिजिटल इन्फोटेन्मेन्ट डिस्प्ले रहेको छ ।

आईएक्स–१ मा प्यानारोमिक सनरुफ, अगाडि मसाज सिट अप्सनल फिचरको रुपमा उपलब्ध हुनेछ । पेट्रोलबाट भल्ने एक्सवान जस्तै डिजाइनमा तयार गरिएको छ । तर, बम्परमा प्रयोग गरिएको व्लु एसेन्ट्स, साइड स्टेप र फ्रन्ट ग्रिलले ईभीलाई सहजै फरक देखाएको छ ।

बीएमडब्लुले आईएक्सवानमा ६६.५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिएको छ । उक्त ब्याट्रीलाई एक पटक फुल चार्ज गरेर ४४० किलोमिटरसम्म चलाउन सकिने विभिन्न परिक्षणले देखाएको छ ।

आईएक्स–१मा ४०० भोल्ट आर्किटेक्चरमा तयार भएको मोडल हो । त्यसका बाबजुद यसले १३० किलोवाटसम्मको डिसी फास्ट चार्जर सपोर्ट गर्छ । यो ईभीमा २ वटा मोटर रहेको जसको कम्बाइन पावर ३१३ हर्सपावर छ । टर्क भने ४९४ न्यूटन मिटर जेनेरेट गर्छ ।

कम्पनीका अनुसार यस एसयूभीले जम्मा ५.६ सेकेन्डमा शून्यबाट १०० किलोमिटर प्रतिघन्टाको स्पीडमा भेट्टाउन सक्छ । यसको टपस्पीड क्षमता भने १८० किलोमिटर प्रतिघन्टा रहेको छ ।

भारतीय बजारमा यसको मूल्य कति पर्छ एकिन भएको छैन । चीनमा भने ४२ देखि ५१ हजार अमेरिकी डलर मूल्य रहेको छ ।

सम्भवत सन् २०२४ मा आईएक्स–१ नेपाली बजारमा पनि आउने छ । नेपालमा बीएमडब्लूका गाडी लक्ष्मी प्रिमियमले बिक्री गर्दै आएको छ ।


Back_to_top