एक महिनामै रेकर्ड बन्नेगरी आयो टियागो ईभी

Tiago ev

काठमाडौं । टाटा मोटर्सको पछिल्लो इलेक्ट्रीक कार टियागो ईभी एकै महिना करिब पाँच सय यूनिट नेपाल आएको छ । नाडा अटो शो २०२३ मा सार्वजनिक भएको टियागो असोज मसान्तसम्ममा ५८२ यूनिट आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।

विद्युतीय कारको बढ्दो आकर्षण र कम मूल्यका कार खोज्नेको संख्या धेरै हुँदा टियागो किन्नेहरु बढेको सहजै अनुमान गर्न सकिन्छ । पेट्रोलियम पदार्थको बढ्दो मूल्य र ईभीमा पाइने कर छुटको कारण बजेट ईभी किन्नेहरु बढेका हुन् ।

टाटा टियागो फ्यामली ह्याचव्याकको रुपमा परिचित मोडल हो । स्टाइलिस डिजाइन, कम्प्याक्ट साइज र टप भेरियन्टकै मूल्य २८ लाख रुपैयाँ रहेको कारण यसको बिक्री बम्पर भएको हो ।

साना ईभी फास्ट चार्जर सपोर्ट नगर्ने भएको कारण धेरै मानिसले किन्ने आँट गरेका थिएनन् । तर, टाटाले टियागोलाई फास्ट चार्जर सपोर्ट गर्नेगरी ल्याएको कारण पनि मानिसले यसलाई मनपराएका हुन् ।

सिप्रदी ट्रेडिङले २२ लाखदेखि २८ लाख रुपैयाँसम्म मूल्य तोकेर यसलाई बिक्री गर्दै आएको छ । थोरै रकम डाउन पेमेन्ट गर्नेले पनि सहजै कर्जा पाउने भएको कारण पनि यसलाई सहजै मानिसले किन्न सकेका हुन् ।

यस्तो छ टियागो ईभी

टाटा टियागो ईभीको फुल अप्सन भेरियन्टमा २४ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिइएको छ । यसलाई कम्पनीले लङ रेन्ज मोडल भन्छ । यसमा ४९ किलोवाट आवरको ब्याट्री उपलब्ध छ । कम्पनीको दावी अनुसार यसले ३१५ किलोमिटर रेन्ज दिन्छ ।

टियागो डीसी फास्ट चार्जर सपर्टो गर्ने कार हो । यसलाई डिसी चार्जरले चार्ज गर्दा जम्मा ५७ मिनेटमा १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । सामान्य होम चार्जरले चार्ज गर्दा भने फुलचार्ज गर्नका लागि ८ घण्टा लाग्ने कम्पनीको भनाई छ ।

टियागोले जम्मा ५.७ सेकेण्डमा ६० किलोमिटर प्रतिघण्टाको गति भेट्टाउन सक्छ । यसमा सिटी र स्पोर्टस गरी दुई ड्राइभ मोड पाउन सकिन्छ । टियोगोमा ४ लेबलको रिजेनेरेसन ब्रेकिङ मोड छ ।

टाटाले यो ह्याचव्याकमा ४५ थरी फिचर रहेको जी-कनेक्ट स्ट्याडर्ड फिचरको रूपमा रहेको छ । एप्पल कारप्ले र एन्ड्रोइड अटो फिचर कनेक्टिभिटी, ७ इन्चको हर्मन इन्फोटेन्मेन्ट सिस्टम र ८ वटा स्पीकर यसमा पाउन सकिन्छ ।

टियागो ईभीमा लेदरेटेड सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेनसेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, इलेक्ट्रीक ओआरभीएम, क्रुज कन्ट्रोल, कुल्ड ग्लोवबक्स, पुस बटम स्टार्ट स्टप जस्ता फिचरहरू रहेका छन् ।


Back_to_top