काठमाडौं । विद्युतीय र पेट्रोलियम पदार्थबाट चल्ने कार बीचको प्रतिस्पर्धा चालु आर्थिक वर्षको पहिलो क्वाटरमा राम्रै देखिएको छ । साउन, भदौ र असोज महिनामा भएको आयात तथ्यांकको आधारमा ईभी अघिअघि र पेट्रोलियम पदार्थबाट चल्ने गाडी पछिपछि देखिन्छ ।

मुख्य चाडपर्व मध्येको एक दशैं सकिएपछि भन्सार विभागले सार्वजनिक गरेको आयात/निर्यात तथ्यांकमा असोज मसान्तसम्म ईभी २ हजार १३५ यूनिट आयात भएको छ । ईभीलाई पच्छाई रहेको पेट्रोलियम पदार्थबाट चल्ने कार भने सोही अवधिमा १ हजार ६५३ यूनिट आयात भएको देखिन्छ ।
आयातको आधारमा यस अवधिमा कुल ३ हजार ७८८ यूनिट कार आयात भएको छ । कुल आयातमा ईभीको हिस्सा ५६.३६ प्रतिशत रहेको छ । त्यसैगरी पेट्रोलियम पदार्थबाट भल्ने कारको हिस्सा ४३.६४ प्रतिशत देखिन्छ ।
मूल्यको हिसावले ४५ देखि ६५ लाखको ईभीको आयात धेरै भएको देखिन्छ । तीन महिनाको अवधिमा ५० देखि १०० किलोवाटसम्मका ईभीको आयात १ हजार १६६ यूनिट भएको छ । त्यसपछि ५० किलोवाटभन्दा कम क्षमताका ईभी धेरै आयात भएको देखिन्छ ।
यस अवधिमा ५० किलोवाटभन्दा कम क्षमताका ईभी ९५४ यूनिट आयात भएका छन् । त्यस्तै पेट्रोल कारतर्फ सबैभन्दा धेरै एक हजारदेखि १५०० सीसीसम्मका कारहरु धेरै आयात भएका छन् । उक्त क्षमताका कार १ हजार ११० यूनिट आयात भएको हो ।


