काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्धबाबा सडक खण्डमा निर्माण गर्ने भनिएको सुरुङमार्ग निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माण गर्न सरकारले स्वीजरल्याण्ड सरकारलाई आग्रह गरेको छ।
केही दिनअघि अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाले डिपिआर तयार गरिदिन आग्रह गर्दै स्विस सरकारलाई पत्राचार गरेको हो ।
स्वीट्जरल्याण्डले नै यो सुरुङ मार्गको पूर्वसंभाव्यता अध्ययन गरी ६ वटा विकल्प दिएको थियो । अब डिपिआर बनाउन पनि उनीहरुलाई नै दिने तयारीमा भइरहेको अर्थमन्त्रालय स्रोतले भन्यो ।
वर्षायाममा पहिरोका कारण अवरुद्ध भइरहने र असुरक्षित बन्ने गरेको भन्दै सरकारले आर्थिक वर्ष २०७३/०७४ को बजेट बक्तव्यमा पहिलोपटक यो राजमार्गमा सुरुङ निर्माणका लागि बजेट राखेको थियो।


