काठमाडौं । विश्व अटोमोवाइलमा ईभीको चर्चा मात्रै भइरहेको छ । यस्तोमा टोयोटाले भने अहिलेसम्म कै धेरै यूनिट कार बिक्री गरेर सबैलाई चकित बनाउन सफल भएको हो ।
हालै सार्वजनिक भएको तथ्यांक अनुसार टोयोटाले सन् २०२३ को ११ महिनामा ९३ लाख ६७ हजार कार उत्पादन र बिक्री गरेको हो । जुन अघिल्लो वर्षको ११ महिनाको तुलनामा १ लाख ३७ हजार यूनिट बढी हो । योसँगै टोयोटाले सन् २०२३ मा १ करोड यूनिट माथि कार बिक्री गर्ने पक्का भएको छ ।
कम्पनीको स्थापनादेखि कै सबैभन्दा धेरै बिक्री भेट्टाउन कम्पनीले टोयोटा र लग्जरी ब्राण्ड लेक्ससको सहारा लिइरहेको छ । उसको बिक्रीमा उत्तर अमेरिकी बजार र यूरोपियन बजारको महत्वपूर्ण भूमिका रहेको छ । साथै, जापानी बजारमा पनि टोयोटाले ठूलो बजार हिस्सा ओगट्न सफल भएको छ ।
विद्युतीय कारको बजारमा टोयोटा बलियो नाम नभएपनि कम्पनीले न्यू इनर्जी भेहिकलको बिक्री ५३.४ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले जनवरीदेखि नोभेम्बर अन्तिमसम्ममा ३ लाख ४३ हजार ९८१ यूनिट न्यू इनर्जी भेहिकल बिक्री गरेको छ ।
सन् २०२२ मा विश्वभर ९५ लाख ६७ हजार १८४ यूनिट कार बिक्री गरेको कम्पनीले सन् २०२३ मा १ करोड यूनिट पुरा गरेर नयाँ रेकर्ड बनाउने पक्का भएको हो ।


