७ नयाँ मोडल ल्याउँदै एमजी

काठमाडौं । मोरिस ग्यारेज (एमजी)ले आगामी २ वर्ष भित्र ७ नयाँ मोडल भारतमा उत्पादन गर्ने गरी काम गरिरहेको रिपोर्ट सार्वजनिक भएको छ । चिनियाँ अटोमोवाइल कम्पनीले भारतीय पार्टन राखेर नयाँ योजना अगाडि ल्याएको हो ।

एसएआईसी ग्रुपले भारतीय प्लान्टमा जिन्दाल ग्रुप अन्तर्गतको जेएसडब्लू कम्पनीलाई ३५ प्रतिशत स्वामित्व बिक्री गरेर नयाँ योजना बनाएको छ । नयाँ योजनाको खुलासा एमजीको हेडक्वाटर संघाइमा भएको ‘इन्टरनेशनल डिलर मिट’मा भएको हो ।

एमजीले आगामी वर्ष भारतमा पेट्रोलियम पदार्थबाट चल्ने गाडी मात्रै नभएर प्लगइन हाइब्रिड र ब्याट्री इलेक्ट्रीक कार पनि उत्पादन गर्नेछ । कम्पनीले भारतमा बिक्री गरिरहेको फुलसाइज एसयूभी ग्लोस्टरको फेसलिफ्ट मोडल चाँडै बजारमा ल्याउने छ ।

यसका अलावा डिलर मिटमा ‘न्यू इनर्जी भेहिकल’को कन्सेप्ट प्रदर्शनी गरिएको थियो । त्यहाँ प्रदर्शनी भएका धेरै मोडल भारतमा नै उत्पादन गर्ने योजना एमजीले बनाएको हो ।

एमजीले भारतमा डिलर नेटवर्क विस्तार गर्दै थप ५ हजार करोड लगानी गर्ने जनाएको छ । सन् २०१९ मा एमजी हेक्टरको लन्चसँगै भारत पसेको कम्पनीले हेक्टर, ग्लोस्टर, एस्टर र कोमेट ईभी उत्पादन र बक्रिी गर्दै आएको छ ।

एमजीले भारतमा उत्पादन गरेको हेक्टर, एस्टर र कोमेट नेपालमा पनि उपलब्ध छ । चाँडै कम्पनीले सानो इलेक्ट्रीक एसयूभी बजारमा ल्याउने गरी काम गरिरहेको छ ।


Back_to_top