काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीको लागि सन् २०२३ स्वार्ण वर्ष बन्यो । कम्पनीले एक वर्षमा ३० लाख २४ हजार ४१७ यूनिट न्यू इनर्जी भेहिकल बिक्री गरेर आफुलाई विश्वका ५ ठूला निर्माताको बीचमा उभ्याउने प्रयास थालेको छ ।

सन् २०२२ मा १८ लाख ६३ हजार ४९४ यूनिट गाडी बिक्री गरेको कम्पनीले सन् २०२३ मा ६२.३ प्रतिशतले उत्पादन र बिक्री बढाउन सफल भएको हो ।
सन् २०२३ को जनवरीमा १ लाख ५१ हजार ३४१ यूनिट कार बिक्री गरेको कम्पनीले डिसेम्बर महिनामा आइपुग्दा ३ लाख ४१ हजार ४३ यूनिट कार बिक्री गर्न सफल भएको हो ।

बीवाइडीको बिक्रीमा प्योर इलेक्ट्रीक कारको हिस्सा ५२.३ प्रतिशत रहेको छ । हाइब्रिडको हिस्सा भने घटेको छ । कम्पनीले सन् २०२३ भर १५ लाख ७४ हजार ८२२ यूनिट प्योर इलेक्ट्रीक कार बिक्री गरेको हो । साथै, हाइब्रिडको बिक्री १४ लाख ३८ हजार ८४ यूनिट रहेको छ ।

कम्पनीले अन्गर्राष्ट्रिय बजारमा निर्यात पनि निकै बढाएको छ । कम्पनीले निर्यात ३३४ प्रतिशतले बढाएको हो । सन् २०२३ मा २ लाख ४२ हजार ७६६ यूनिट कार निर्यात गरेको कम्पनीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।



