काठमाडौं । विद्युतीय सवारीसाधनको माग बढ्दै जाँदा नयाँ नयाँ मोडल आउने क्रमपनि बढिरहेको छ । चालु आर्थिक वर्षको ५ महिनामा नै विद्युतीय सवारीसाधनको आयात ६५ प्रतिशत माथि पुगेको कारण ईभी ल्याउन प्रतिस्पर्धा चलिरहेको हो ।
विद्युतीय एसयूभीमा धेरै अप्सन भएपनि राम्रो ह्याचव्याक मोडल बीवाइडी डल्फीन मात्रै छ । त्यसैले यही सेग्मेन्टमा बिक्री गर्न विलिङको विङ्गो र जीएसी एवोन-वाई चाँडै नेपाली बजारमा प्रबेश गर्ने तयारीमा छन् ।
विलिङले अहिले एयर मिनी बिक्री गर्दै आएको छ भने जीएसी एवोन ब्राण्ड चौधरी ग्रुपले नेपाल ल्याउन एजेन्सी लिइसकेको छ । यी दुबै ब्राण्डका ह्याचव्याक बीवाइडी डल्फीनसँग प्रतिस्पर्धा गर्न आउने भएको कारण फिचर लोडेड हुनेछन् । मूल्यमा विलिङ विङ्गोभन्दा एवोन वाई केही महंगो हुनेछ ।
विलिङ विङ्गो
नेपाली बजारमा पनि चाँडै ल्याउने तयारी भएको विङ्गो ह्याचव्याक निकै मोर्डन र क्लासिक डिजाइनमा पाउन सकिन्छ । यसको लम्बाई ३९५० एमएम, चौडाई १७०८ एमएम र उचाई १५८० एमएम छ । यसमा २५६० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।
विलिङ विङ्गोे दुई डिजिटल स्कृनको साथ आउने छ । यसमा ७ इन्चको इन्ट्रुमेन्ट क्लस्टर छ । साथै, सूचना र मनोरन्जनको लागि १०.२५ इन्चको इन्फोटेन्मेन्ट स्कृन दिइएको छ ।
इन्डोनेशियाली बजारमा ३१.९ र ३७.९ किलोवाट आवरको दुई फरक साइजमा ‘लिथियम फेरो फस्फेट’ ब्याट्रीमा विङ्गो मोडल उपलब्ध छ । यो दुबै वा कुनै एक मात्रै ब्याट्री अप्सनमा यो नेपाल आउने छ ।

सानो साइजको ३१.९ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ३३३ किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ । साथै, लङ रेन्ज मोडलले ४१० किलोमिटर दिने कम्पनीले दावी गरेको छ । यसमा रहेको ब्याट्रीलाई रिचार्ज गर्न ३० किलोवाटको डीसी फास्ट चार्जरले ३५ मिनेट र एसी चार्जरलाई ९.५ घण्टासम्म लाग्छ ।
विलिङले प्रिमियम ह्याचव्याकमा १५ इन्चको ह्वील दिएको छ । विङ्गोे मोडलमा ४९ किलोवाटको मोटर छ । जुन नेपालमा सबैभन्दा कम कर लाग्ने मोटर सेग्मेन्टमा पर्छ । यसको पीकटर्क भने १५० न्यूटन मिटर रहेको छ । फ्रन्ट ह्वील ड्राइभ मोटर सेटअप भएको विङ्गोको टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघण्टा रहको छ ।
यस्तो छ एवोन-वाई
जीएसीले युवा ग्राहकलाई लक्षित गरेर बनाएको वाई मोडल डल्फीनभन्दा पनि ठूलो छ । यसको लम्बाई ४४१० एमएम, चौडाई १८७० एमएम र उचाई १६४५ एमएम छ । यसमा २७५० एमएमको ह्वीलवेस पाउन सकिन्छ । यसलाई कम्पनीले १८ र १९ इन्चको ह्वील अप्सनमा चीनमा बिक्री गर्दै आएको छ ।
चिनियाँ बजारमा उपलब्ध एवोन-वाईको ग्राउन्ड क्लियरेन्स १५० एमएम मात्रै छ । नेपालमा कुन साइजको ग्राउन्ड क्लियरेन्समा आउँछ अहिल्यै भन्न सकिने अवस्था छैन ।

कम्पनीले यसमा १०.२५ इनचको ड्राइभर इन्फर्मेसन डिस्प्ले र १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ । कप होल्डर, वायरले चार्जर पनि यसमा पाउन सकिन्छ ।
जीएसी एवोन वाईमा ५१.९ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिइएको छ । यसलाई सिंगल चार्जमा ४३० किलोमिटर गुडाउन सकिन्छ । यसमा मोटर पनि १०० किलोवाटको छ । यसको पीकटर्क भने १७६ एनएम छ ।

